
टीकापुर, असार २६
कैलालीको टीकापुर नगरपालिका कार्यपालिकाको कार्यालयमा विद्युत सर्ट भएर आगलागी भएको छ । विद्युतको पोलबाट आएको तार रहेको मुख्य मिटरमै केहीबेर अघि दिउँसै आगलागी भएको हो ।
कार्यालय सञ्चालन भइरहेको बेला विद्युत मिटरमै आगो दन्किएपछि केहीबेर नगरपालिकाको सेवाप्रवाह रोकिएको थियो । तत्काल स्थानीय सेवाग्राहीले थाह पाएपछि पालिकामा ठूलो क्षति हुनबाट जोगिएको हो ।
टीकापुर नगरपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले पालिकाको मुख्य मिटरमा आगलागी भएको बताइन् ।
‘सायद लोड बढी भएर होला, मुख्य मिटरमै आगलागी भएको हो’ चौधरीले भनिन् ‘सेवाग्राहीले थाह पाएपछि आगो तत्काल नियन्त्रणमा लिइएको छ, कुनै क्षति भने हुन पाएन ।’
दिउँसोको समयमा आगलागी हुँदा ठूलो क्षति हुनबाट पालिका जोगिएको हो । गएराति टीकापुर नगरपालिका वडा नं. ६ स्थित गणेश क्षेत्रीले सञ्चालन गर्दै आएको कपडा पसलमा समेत आगलागी भएको थियो । स्थानीयबासी, प्रहरी र नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए ।