Hamro Patra
कैलालीका उखु किसानको बक्यौता खातामै पठाउने तयारी

बर्दिया, असोज १५
बर्दिया र कैलालीका उखु किसानले लामो समयदेखि पाउन बाँकी रहेको भुक्तानी अबको केही दिनभित्रै निकासा हुने भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्राविधिक प्रक्रिया पूरा गरेर यथाशीघ्र किसानको खातामा रकम पठाउने तयारी अघि बढाएको हो ।

बिहीबार बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले उखु किसानको भुक्तानीलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको जानकारी दिए । भुक्तानीमा भएको ढिलाइप्रति किसानको गुनासो स्वाभाविक रहेको स्वीकार गर्दै उनले प्रशासनिक र प्राविधिक प्रक्रियाका कारण असारमै हुनुपर्ने भुक्तानीमा ढिलाइ हुन पुगेको स्पष्ट पारे ।

किसानको भुक्तानी प्रक्रियाबारे स्पष्ट पार्दै सचिव मिश्रले भने, ‘बर्दिया र कैलालीका उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने गरी मन्त्रीस्तरबाटै निर्णय भइसकेको छ। भुक्तानीसम्बन्धी कार्यविधि प्राप्त भइसकेकाले एक–दुई दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी दसैँअघि नै रकम पठाउने तयारी भइरहेको छ ।’

उखु किसानले लामो समयदेखि बक्यौता रकमका लागि पटक–पटक ताकेता गर्दै आएका थिए। यसअघि मन्त्रालयले भुक्तानी गर्ने निर्णय गरिसकेको भए पनि कार्यान्वयनमा देखिएको सुस्तताका कारण किसानहरू मारमा परेका थिए। सचिव मिश्रले भने मन्त्रालयले निरन्तर फलोअप गरिरहेकाले किसानहरूलाई ढुक्क रहन आग्रह गरेका छन् । 

सरकारी अधिकारीहरूले भुक्तानीको आश्वासन पटक–पटक दिँदै आए पनि किसानले सास्ती खेप्नुपर्ने अवस्था कायमै रहेकाले अब एक–दुई दिनभित्रै खातामा रकम पुग्छ वा पुग्दैन भन्ने कुरामा किसानको दसैँको रौनक निर्भर रहनेछ ।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update