
टीकापुर, असार ५
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १० उदासीपुरलाई बालमैत्री वडा घोषणा गरिएको छ ।
नेपाल सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ सूचक पूरा गरेसँगै वडा नम्बर १० लाई बालमैत्री वडा घोषणा गरिएको हो ।
कैलालीमा बालमैत्री वडा घोषणा भएको यो पहिलो वडा हो । बालमैत्री वडाले बालअधिकार महासन्धिमा आधारित रहेर बालअधिकारको सवाललाई आत्मसाथ गर्ने गर्दछ ।
५१ सूचकमा गर्भवती महिला, नवजात शिशुको स्वास्थ्य जाँच, टीटी विरुद्धको खोप, दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराएको, ६ महिनासम्म अनिवार्य स्तनपान, ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खाएको हुनुपर्ने व्यवस्था छ ।
त्यसैगरी एक वर्ष भित्रका बालबालिकालाई पूर्णखोप, सबै घरपरिवारमा आयोडिनयुक्त नुन, कमतौल, पुड्को र ख्याउटेपन हुने बालबालिकाको संख्यामा कमि हुनुपर्ने, सबै घरधुरीमा खानेपानी, शौचालय, अनिवार्य जन्मदर्ता, बालविवाह मुक्त भएको हुनु पर्दछ ।
त्यस्तै छाउपडी, कमलरीजस्ता सामाजिक कुप्रथाको अन्त्य, सबै बालबालिका विद्यालय गएको, सडक बालबालिका शून्य, बालसञ्जाल गठन, विद्यालय तथा स्वास्थ्य व्यवस्थापन समितिमा बालक्लवको प्रतिनिधित्व, बाल भेला भई आएका योजनाहरू समावेश भएको लगायतका कार्य हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।
बालमैत्री वडा निर्माणका लागी गौरीगंगा नगरपालिका, गौरीगंगा नगरपालिका १० नम्बर वडा कार्यालय र साझेदारी संस्था वल्र्ड भिजन नेपाल, बाल कल्याण संघ लगायत सम्पूर्णमा धन्यवाद र बधाई दिदै कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकार सधै बालबालिका हकका सन्दर्भमा सधै सकारात्मक रहेको र अहिले पनि विभिन्न शिर्षकमा बालबालिका सन्दर्भमा कार्यक्रमहरु मार्फत अघि बढाएको बताए ।
उनले बालबालिकाको क्षेत्रमा काम गरिरहेका बाल कल्याण संघ र वल्र्ड भिजन नेपाल लगायत सम्पूर्णलाई प्रदेश सरकारले महिला, बालबालिका र बृद्धबृद्धा दशक कार्यक्रम घोषणा गरेको र कार्यक्रम लागि आवश्यक सुझाव र सहयोगकालागि समेत अनुरोध गरेका छन ।
कार्यक्रममा आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बम, प्रदेश सभा सदस्य जानकीदेवी पौडेल कुँवर, जिल्ला समन्वय प्रमुख टीका चौधरी भूल, गौरीगंगा नगरपालिका प्रमुख देवीदत्त कँडेल लगायतको उपस्थिति रहेको थियो ।