Hamro Patra
अपाङ्गता सहायक सामाग्री वितरण

टीकापुर, भदौ १८
टीकापुरमा अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता सहायक सामाग्री वितरण गरिएको छ । वर्ल्ड भिजन नेपालको आर्थिक सहयोग, बाल कल्याण सघंको सहकार्य र टीकापुर नगरपालिकाको समन्वयमा अपाङ्गता भएका व्यक्ति छ जनालाई अपाङ्गता सहायक सामाग्री वितरण गरिएको हो ।

अपाङ्गता साहायक सामाग्री वितरण गर्दै टीकापुर नगरपालिका नगर प्रमुख रामलाल डगौरा थारुले नगरपालिकासँग साझेदार संस्था वर्ल्ड भिजन नेपाल र बाल कल्याण संघ टीकापुरको सहयोगमा  अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी आवश्यक सहायक सामग्री वितरण गर्न पाउँदा खुशी लागेको बताए । उनले शारीरिक अपाङ्गता भएका कारण समस्या झेलिरहेका व्यक्तिहरुलाई सहायक सामाग्रीले सहजता र सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । 

टीकापुर नगरपालिका वडा नं. १ समितिपुरका रामदयाल चौधरीलाई सहायक सामाग्री ट्राई–साइकल पाएका छन् । चौधरीले शारीरिक अवस्था राम्रो नभएका कारण धेरै समस्या भएको र ट्राई–साइकलले हिँडडुल गर्न सहज हुने बताए । 

वडा नं. १ कै  भिख तिरुवाले दुई वर्ष अघि आफ्‌नै घरको छतबाट खस्दा हात र खुट्टा नचल्ने समस्या रहेको बताए । उनले प्राप्त गरेको ह्वील चियरले सहजता हुने बताए । 

विभिन्न किसिमका अपाङ्गता भएका छ जनालाई अपाङ्गता सहायक सामाग्री वितरण गरिएको टीकापुर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख संगीता शाहले जानकारी दिएका छन् । यसअघि समेत संस्थाले विभिन्न पन्ध्र जनालाई सहायक सागम्री वितरण गरेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update