
टीकापुर, असोज ३१
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका डिन प्राध्यापक डाक्टर विष्णुविलाष अधिकारीले टीकापुरले कृषि विज्ञहरुको पर्याप्त उपयोग गर्न नसकेको बताएका छन् ।
डल्फिन मिडिया प्रा.लिद्धारा सञ्चालित हाम्रो पत्र डटकमको आयोजनामा ग्रिन एसिया होटलमा भएको शुभकामना आदानप्रदान तथा ट्राफिक सचेतनामूलक बोर्ड हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै डाक्टर अधिकारीले सो कुरा बताएका हुन् ।
‘कृषिका लागि समग्र टीकापुर क्षेत्र उर्बरभूमि हो, सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय र प्राकृतिक श्रोत व्यवस्थापन कलेज गरेर टीकापुरमा हाल ४० जना भन्दा विभिन्न विषयका कृषि विज्ञहरु कार्यरत छन्’ डाक्टर अधिकारीले भने ‘यो दक्ष जनशक्तिलाई टीकापुर क्षेत्रले पर्याप्त उपयोग गर्न सकेको छैन, यहाँका सम्भावनालाई अध्ययन, अनुसन्धान गरेर समुदायसम्म पुर्याउँदै उत्पादनमा वृद्धि गर्न सकिन्छ ।’
डाक्टर अधिकारीले समाजका विकासका लागि आपसी सहकार्यमा जोड दिँदै टीकापुर विकासका लागि यहाँ उपलब्ध विज्ञ जनशक्तिको उपयोग गर्नुपर्ने बताए । ‘कुनै पनि क्षेत्रको समुचित विकासका लागि अध्ययन, अनुसन्धान र सहकार्य हुन आवश्यक छ’ डाक्टर अधिकारीले भने ‘सुदूरपश्चिम विश्वविद्यालयले टीकापुर बहुमुखीको ५९ विघा जग्गामा कृषिका प्लटहरु बनाएर अनुसन्धान गरिरहेको छ, त्यही ज्ञान, सीप समुदायसम्म पुर्याउन आवश्यक छ ।’
कार्यक्रममा बोल्दै टीकापुर नगरपालिकाका पूर्व नगर प्रमुख तपेन्द्रबहादुर रावलले समाजमा नकारात्मक प्रभाव बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै समाज कस्तो मार्गमा गइरहेको भन्ने बारे सबै सचेत हुनुपर्ने बताए । ‘हाम्रो समाजमा नकारात्मक प्रभाव बढ्दै गइरहेको छ, यो चिन्ताको विषय हो’ पूर्व नगर प्रमुख रावलले भने ‘तपाई हामी सबैले यो समाज कता गइरहेको छ ? भन्ने विषयमा गम्भीर भएर लाग्नुपर्ने बेला आएको छ ।’
कार्यक्रममा बोल्दै टीकापुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख लालवीर चौधरीले नागरिक सहभागिता विनाको विकास निर्माण पूर्ण नहुने बताए । कार्यक्रममा इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक बालेन्द्र नाथले ट्राफिक सचेतना फैलाउन सामाजिक सञ्जाल र मिडियाले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
टीकापुर क्षेत्रका समाजसेवी, बुद्धिजीवि, व्यापारी, पत्रकार लगायतको सहभागिता भएको कार्यक्रमका सहभागीहरुले मिडियाले सामाजिक विषयवस्तुमाथि कलम चलाउनु पर्नेमा जोड दिए ।
ट्राफिक सचेतनामूलक बोर्ड हस्तान्तरण
डल्फिन मिडिया प्रा.लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत टीकापुरको मुख्य छ लेन सडकमा ट्राफिक सचेतनामूलक बोर्डहरु ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको छ ।
मुख्य सडकको जमरा पुलदेखि बसपार्कसम्मको छ लेन सडकमा रहेका चोक, पैदलमार्ग, चौराहामा ट्राफिक सचेतनामूलक सन्देश लेखिएको बोर्ड अस्थायी प्रहरी पोष्ट टीकापुरलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि डा. विष्णुविलाष अधिकारीले ट्राफिक प्रहरी इञ्चार्ज योगेश पाललाई बोर्ड र पम्पलेट हस्तान्तरण गरेका हुन् ।
हाम्रो पत्र डटकमका प्रधान सम्पादक योगेश रावलले डल्फिन मिडियाले ट्राफिक सचेतना जगाउन र सडक दुर्घटना न्यूनिकरण गर्नका लागि थोरै सहयोग गरेको बताए । ‘हामी समाचारका माध्यमबाट समाजलाई सचेत गराई रहेका छौं’ प्रधान सम्पादक रावलले भने ‘हामी सबै मिलेर टीकापुर क्षेत्रलाई सभ्य बनाउन आ–आफ्नो ठाउँबाट सकेको योगदान गरौं भन्ने सन्देश दिन हामीले यी बोर्डहरु हस्तान्तरण गरेका हौं ।’
मिडिया प्रा.लि.का अध्यक्ष टोपप्रकाश वि.क.को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यकारी सम्पादक परमानन्द पाण्डेले गरेका हुन् ।