Hamro Patra
शिक्षाले समाजलाई डोर्याउछ: राजदूत कर्ण

टीकापुर, कात्तिक ९

इजरायलका लागि नेपाली राजदूत सुरेश कर्णले शिक्षाले मात्रै समाजलाई सकारात्मक ढंगले अघि बढाउन सक्ने बताएका छन । आफ्ना स्कुल पढ्दाका सहपाठीहरुसँग आज भएको चियापानका क्रममा उनले शिक्षा बिनाको समाज अधुरो हुने बताए ।

उनले शिक्षाले असल जनशक्ति उत्पादन गर्ने र त्यही जनशक्तिले समाजलाई सही दिशामा डोर्याउने भएकाले शिक्षाको विकास नगरी समाजको विकास हुन नसक्ने उल्लेख गरे । उनले टीकापुरस्थित बिरेन्द्र विद्या मन्दिर (तत्कालिन टीकापुर आवासिय मावि) बाट २०४० सालमा एसएलसी उत्तिर्ण गरेका थिए ।

उनले सुदूरपश्चिम विश्वविद्यालय कृषि संकाय अन्र्तगतको टीकापुरस्थित स्कुल अफ एग्रिकल्चर र इजरायल सरकारबीच सम्झौता भई केही समय यता अवरुद्ध भएको लर्न एण्ड अर्न प्रोग्रामलाई पुनः सञ्चालनका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । सो प्रोग्राम इजरायलमा भएको आक्रमणमा परेर नेपाली विद्यार्थी मारिए पछि रोकिएको छ । उनले स्कुल अफ एग्रिकल्चरको थप विकासका लागि समेत इजरायल सरकारसँग समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।

‘मैले यही ठाउँमा गर्नपर्छ भन्न त मिल्दैन’ उनले भने–‘तर यहाँको सम्भावनाका बारेमा भन्न सक्छु ।’ हाल टीकापुर नगरपालिका वडा नम्बर ७ सत्ती (साविक नारायणपुर गाविस) मा जन्मिएका कर्णले देशका साथसाथै आफू जन्मेको ठाउँका लागि थोरै भएपनि केही गर्नुपर्छ भावनाले सबैसँग भेटघाट गरिरहेको बताए । ‘म कुनै राजनीतिक व्यक्ति त हैन । यहाँको कुनै पनि समस्या समाधान गरिदिन्छु पनि भन्दैन’ उनले भने–‘मेरो सानो पहलले समाजमा सकारात्मक प्रभाव पार्छ भने मैले पछि हट्नु हुँदैन ।’

उनले टीकापुरलाई कृषि र प्रविधिका माध्यमबाट विकास गर्न सकिने बताए । उनले धेरै व्यक्तिले धेरै थरी कृषि गर्नु भन्दा थोरै व्यक्तिले धेरै मात्रामा कृषि कार्य गर्नु उचित हुने बताउँदै परम्परागत कृषि प्रणाली भन्दा उत्पादन बढाउने गरी कृषि गर्नुपर्नेमा जोड दिए । उनले टीकापुरको खेतीयोग्य जमिनलाई सदुपयोग गरेर कृषिको तिब्र विकास गर्न सके यहाँको आर्थिक अवस्थामा सुधार हुने बताए ।

‘पर्याप्त जमिन छ, कृषिको अनुसन्धान केन्द्र खोलौं, विभिन्न कृषि बालीको परिक्षण गरौं, किसानलाई सहुलियत दिएर उत्पादनमा केन्द्रित गरौं’ उनले भने–‘तब मात्रै ठूलो परिमाणमा उत्पादन गर्न सकिन्छ ।’ उनले स्थानीय सरकारले सकारात्मक परिवर्तनका लागि अगुवाई गर्न सुझाव दिए ।

‘यो स्थानीय सरकारको जिम्मेवारी पनि हो । उसले आम नागरिकको जीवनस्तरमा सुधार हुने गरी काम गर्नुपर्छ’ उनले भने–‘हाम्रो भूमिका स्थानीय सरकारलाई सघाउने मात्रै हो ।’ सो अवसरमा तत्कालिन टीकापुर आवासिय माविबाट एसएलसी उत्तिर्ण गरेर विभिन्न ओहदाबाट अवकास प्राप्त, व्यापार व्यवशायमा संलग्न व्यक्तिहरुको उपस्थिति थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update