Hamro Patra
बालेनको क्रेजले बढेको युवा उम्मेदवारको भिड

टीकापुर, कार्तिक ८

नेपाली राजनीतिमा युवा पुस्ताको आकर्षण ह्वात्तै बढेको छ । यसको उदाहरणका लागि वर्तमान सरकार र संसदलाई हेर्न सकिन्छ । सत्ता पक्ष मात्रै हैन प्रतिपक्षबाट समेत युवाहरुको संख्या विगतको तुलनामा बढी देखिन्छ । अझ आउँदै गरेको स्थानीय तहको निर्वाचनमा युवाहरुले आफूलाई उम्मेदवारका रुपमा अघि सार्न थालेका छन । पछिल्लो समय सामाजिक सञ्जाल हेर्ने हो भने आफूलाई पालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्षको आकांक्षी बताउनेमा धेरैजसो युवाहरु नै छन । आम मानिसले समेत युवाहरुको उम्मेदवारीलाई हौस्याईरहेका छन । यसले पनि युवाहरु राजनीतिमा आकर्षित भएको मान्न सकिन्छ । 

ओझेल पारिएको युवा राजनीति

२०४६ सालमा प्रजातन्त्र पुर्नस्थापनाका लागि एक पुस्ताले अगुवाई गर्यो । त्यही पुस्ता झण्डै चार दशकसम्म नेपाली राजनीतिको मूलधारमा रहिरह्यो । उनीहरुले आफू पछिको पुस्तालाई नेतृत्वमा आउन नदिएको युवा पुस्ताको आरोप छ  । २०५१ देखी एक दशक मुलुकमा द्वन्द चल्यो । त्यो बिचमा जनताले राजाको प्रत्यक्ष शासन काल समेत भोग्नु पर्यो । २०६२÷०६३ मा राजनीतिक दल र द्वन्दरत पक्षले मिलेर राजाको प्रत्यक्ष शासन अत्य गरे । राजाको प्रत्यक्ष शासन मात्रै हैन राजनीतिक दलले राजतन्त्र नै अन्त्य गरिदिए । नयाँ संविधान जारी भयो । त्यसपछि मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो । राज्य सञ्चालनमा राजनीतिक दलहरुकै हालिमुहाली कायम भयो । त्यसमा पनि केही सिमित पात्रहरुको बोलबाला चल्न थाल्यो । उनीहरुले नेतृत्वमा पुग्न आलोपालो प्रणाली नै कायम गरे । यसले युवा पुस्तालाई नेतृत्वमा पुग्ने सम्भावना समाप्त जस्तै भयो । 

अन्य दल भन्दा नेपाली काँग्रेसमा युवा पुस्ताको नेतृत्वमा पुग्ने प्रयत्न जारी रह्यो । गगन थापा, विश्व प्रकाश लगायतको पुस्ताले पार्टी भित्र विद्रोहको भाषा बोलिरह्यो । उनीहरु दुवै जनाले १४ औं महाधिवेशनबाट महामन्त्रीमा जिते । काँग्रेस भित्र युवा पुस्ताको आवाज बुलन्द भएको ठानियो । तर त्यसो हुन सकेन । युवा पुस्ताको आवाजलाई दवाउने प्रयत्न भैरह्यो । चुनावी गठबन्धन, सत्ता गठबन्धन लगायतका कुरामा सबै राजनीतिक दलका नेतृत्व बिच समान प्रवृत्ति देखियो । उनीहरुले युवा पुस्ताले भनेको कुरा सुन्दै सुनेनन् । नेतृत्वले भनेको कुरा पार्टीको विधान भन्दा माथि मान्नु पर्ने स्थिति देखियो । यसले युवा पुस्तामा निकै धेरै नैराश्यता उत्पन्न भयो । 

यो नैराश्यता राजनीतिक दल भित्रका युवामा मात्रै हैन बाहिर रहेका युवामा समेत बढ्दै गयो । सत्ता प्राप्तीका लागि पूराना राजनीतिक दलबीच हुने गरेको अपवित्र गठबन्धन र सत्तामा पुगेपछिको दम्भ र अहंकारले युवा पुस्तामा आक्रोश पैदा भयो । यसमा जनताले समेत साथ दिए । यो आक्रोश विद्रोहमा परिणत भयो । जसले २०८२ भदौ २३ र २४ गतेको घटना सिर्जना भयो । त्यो अवस्थाको नेतृत्व जेन्जी पुस्ताले गरेको भएपनि त्यहाँ विभिन्न खालका घुसपैठ थिए भन्ने कुरा घाम जस्तै छर्लङ्गै छ । जेन्जी आन्दोलनले राजनीतिक दलहरुलाई पाखा लगायो । राजनीतिक दलहरु भित्र अब नेतृत्वमा युवा पुस्ता जानुपर्छ भन्ने कुरा सशक्त रुपमा उठ्न थाल्यो । काँग्रेसमा महामन्त्रीद्वयले विशेष महाधिवेशन गरे । सभापति शेरबहादुर देउवा पक्षधर यसको विरोधमा उत्रियो । निर्वाचन आयोगले विशेष महाधिवेशनले चयन गरेको गगन थापा नेतृत्वको काँग्रेसलाई मान्यता दियो । मुद्दा सर्वोच्च अदालत सम्म पुग्यो । सर्वोच्चले समेत निर्वाचन आयोगकै निर्णयलाई सदर गरेपछि थापा नेतृत्वको काँग्रेसले वैधता पायो । 

यो बिचमा थापा नेतृत्वको काँग्रेसले १५ औं महाधिवेशन समेत सम्पन्न गरिसकेको छ भने देउवा पक्षधर काँग्रेस भने सर्वोच्चले दिएको निस्सालाई आफू आधिकारिक भएको ठहर गर्दै नियमित महाधिवेशनको तयारीमा छ । काँग्रेस भित्र एउटा पक्ष विरोधमा रहेपनि थापा भने युवा पुस्ताको नेतृत्व गर्दै काँग्रेसको नेतृत्वमा पुग्न सफल भएका छन । उनले काँग्रेसलाई आगामी दिनमा कसरी सहज रुपमा अघि बढाएर लैजान्छन त्यो भने हेर्न बाँकी छ । युवा पुस्ताको नेतृत्व गरेर मात्रै हुँदैन काँग्रेस कार्यकर्ताको भावना अनुसार पार्टीलाई एक ढिक्का बनाएर लैजानु पर्ने सभापति थापासँग चुनौती यथावत नै छ । 

काँग्रेस बाहेकका अन्य राजनीतिक दलहरुमा भने युवा पुस्ताको आवाजलाई माथि उठ्नै दिईएन । ती दलमा रहेका युवाहरुले समेत सशक्त रुपमा आफूलाई उभ्याउन सकेनन् । जसको परिणाम पार्टीको नेतृत्वमा तिनै पूराना नेताहरु रहिरहे । नेकपा एमालेले पार्टीको विधान परिवर्तन गरेर भएपनि केपी ओलीलाई नै अध्यक्षमा निरन्तरता दियो । केही युवाहरुले विरोध गरेपनि त्यसको कुनै सुनुवाई नै भएन । उनीहरु बेलाबेलामा विद्रोहको भाषा बोल्ने प्रयास गर्थे । ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको वरिष्ठ नेताका रुपमा नियुक्त गरेर युवाहरुको विद्रोहको भाषालाई जरैबाट निमिट्यान्न पारिदिए । अब त्यहाँ युवाको भाषा कसैले बोल्ने हिम्मत गर्ने छैनन् । यदि कसैले त्यस्तो दुस्साहस गरिहाले भने उनले आफ्नो राजनीतिक करिअर सदाका लागि अन्त्य भएको बुझ्नुपर्नेछ । 

हालको नेपाली कम्युनिष्ट पार्टीमा त झन नेतृत्व परिवर्तनको कुरा उठाउनै पाईदैन । प्रचण्डको विकल्प खोज्नेहरु मात्रै हैन विकल्प हुनसक्ने पात्रहरु नै पार्टीबाट त के लगभग राजनीतिबाटै विस्थापित भैसकेका छन । युवा पुस्ताको आवाज उठाउने विप्लव, प्रभाकर जस्ता नेताहरु लखेटिएका छन । पछिल्लो पटक एमाले छोडेर प्रचण्डको पार्टी तर्फ लागेका नयाँ र पूराना सबैको हविगत उस्तै छ । न उनीहरु पार्टीमा आफ्नो उपस्थिति सशक्त पार्न सक्छन न पार्टी छोडेरै जान सक्छन । पार्टी भित्र उनीहरुको अवस्था एक किसिमले बिचरा नै छ भन्दा अन्यथा नहोला । 

राजावादी, मधेशवादी दलका के कुरा गर्नु । उनीहरु आफैमा टुटेर फुटेर अघि बढिरहेका छन । ती दलहरुमा कसको नेतृत्व भन्ने कुरोको खाशै अर्थ छैन । उनीहरु सिमित राजनीतिक स्वार्थका लागि परिचालित पार्टी हुन । राजावादीलाई राजतन्त्र र हिन्दु धर्मको नाममा राजनीति गर्नुछ । मधेशवादीलाई मधेश र मधेशी जनताको नाममा राजनीति गरे पुग्छ । उनीहरुलाई त्यो भन्दा माथि उठेर राजनीति गर्ने फुर्सद छैन । 

उता, रास्वपाका सभापति रवि लामिछाने पूरानाको विरोध गर्दै नेपाली राजनीतिमा स्थापित भएका मात्र हुन । उनी समेत पार्टीको महाविशेनबाट नेतृत्वमा दोहोरिएका छन । अब आगामी दिनमा उनी कति पटक नेतृत्वमा रहन चाहने छन भन्ने कुराले उनको राजनीतिक भविष्य निर्धारण गर्नेछ । उनले रास्वपाको बढेको वजन बोकेर अघि बढ्नु पर्नेछ । एकातिर हलक्कै बढेको पार्टीको वजन अर्कोतिर जनमतको भारी लामिछानेका लागि चुनौतीको पहाड बनेका छन । 

राजनीति तर्फ कसरी बढ्यो युवा मोह ? 

सत्ता प्राप्तीका लागि जेपनि गर्न तयार हुने पूराना राजनीतिक दलहरुको चर्तिकला देखेर आम नागरिक उदेक थिए । उनीहरु विकल्पको खोजीमा थिए । २०७९ को स्थानीय तहको निर्वाचनमा काठमाण्डौं महानगरमा बालेन्द्र शाह अर्थात बालेन, धनगढी उपमहानगरमा गोपाल हमाल र धरान उपमहानगरमा हर्क साम्पाङको जित यसको संकेत थियो । राजनीतिक दलका नेतृत्वले यसलाई खाशै वास्ता गरेनन् । उनीहरु उल्टै बालेनसँग भिड्न थाले । सिंगो संघीय सरकार एकातिर र काठमाण्डौंको मेयर बालेन अर्कोतिर भए । बालेन एक्लै भिडे । उनको क्रेज बढ्दै गयो । महानगर भित्र सिमित बालेनको क्रेज देशभर फैलियो । यो कुराको जानकारी उनलाई भैसकेको थियो । यही बिचमा जेन्जी मुभमेन्ट सुरु भयो । उनले त्यसलाई बाहिरै बसेर सर्पोट गरे र परिस्थितिलाई हातमा लिए । उनलाई प्रधानमन्त्री बन्न दवाव आयो । तर उनले पूर्वप्रधानन्यायाधिश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सल्लाह दिए । कार्की नेतृत्वको सरकार निर्वाचन सम्पन्न गर्न र बालेन निर्वाचन जित्ने तयारीमा जुटे ।

बालेन निर्वाचित प्रधानमन्त्री बन्न चाहन्थे । तर उनीसँग पार्टी थिएन । एक्लो व्यक्ति जितेर प्रधानमन्त्री बन्ने कुरो सम्भव थिएन । उनलाई तत्काल पार्टी खोलेर निर्वाचनमा जान समय थिएन । उनले दल दर्ता गरेर लौरो चुनाव चिन्ह ब्याकअपमा राखेको चर्चा पनि थियो । तर चुनाव जित्न तलसम्म संगठन पनि चाहिन्थ्यो । उनलाई कुनै न कुनै दलसँग मिल्नै पर्ने वाध्यता थियो । उनले यसका लागि उपयुक्त रास्वपालाई ठाने । उनी सभापति रवि लामिछानेलाई भेट्न पुगे । दुईजनाबिचको भेट उपलब्धिमुलक भएन । बालेन लामिछानेसँग खुशी देखिएनन् । उनले भोलिपल्ट ललितपुरको कुपण्डोलस्थित कुमार बेनको घरमा राजनीतिक भेटघाट सुरु गरे । बालेनलाई भेट्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, काँग्रेसका नेता चन्द्र भण्डारी, सुनिल शर्मा, कुलमान घिसिङ, मधेशवादी दलका नेता लगायतका ठूलासाना राजनीतिक व्यक्तिहरुको भिड उर्लियो । यो भिड देखेपछि लामिछाने तर्सिए । उनी पनि दौडिएर बालेनलाई भेट्न पुगे । यो भेटमा बालेनलाई लामिछानेलाई वास्ता गरेनन् । उनी करिव १५ मिनेटको भेटपछि निन्याउरो अनुहार सहित फर्किए । 

बालेनले दिनभरको भेटघाट सके । सायद उनको यो भेटघाट केवल लामिछानेलाई सबक सिकाउनु थियो । फेरी लामिछाने र बालेनको भेट कमलपोखरीस्थित आसिफ शाह र असिम शाहको घरमा भयो । उनीहरुबीच लामो समय वार्ता भयो । राति नै रास्वपाको वरिष्ठ नेता हुँदै प्रधानमन्त्रीको उम्मेदवारका रुपमा बालेनलाई लामिछानेले स्विकारे । पार्टी लामिछानेले र सरकार बालेनले चलाउने भद्र सहमति सहित उनीहरु निर्वाचन केन्द्रित भए । 

स्रोतका अनुसार बालेनलाई काठमाण्डौं वा मधेश प्रदेश भित्रको कुनै उपयुक्त क्षेत्र रोज्न भनियो । तर उनले झापाको ५ नम्बर क्षेत्र रोजे । जहाँ एमालेका अध्यक्ष ओलीको निर्वाचन क्षेत्र हो । कुनैदिन ओलीले उनलाई प्रतिस्पर्धाका लागि निम्तो दिएका थिए । ओलीलाई यति घमण्ड थियो कि कुनै हालतमा चुनाव हारिन्न । ओलीलाई मात्रै हैन उनका केही आसेपासेलाई समेत यो घमण्ड थियो । कसैले बालेन ओलीसँग चुनावै लड्दैनन् भने । यदि लडिहाले जित्दैन भन्न थाले । अझ कतिले त देश छोड्ने, कान काट्ने, गु खाने जस्ता कसम समेत खाएका थिए । यस्ता कुराको बालेनलाई कुनै वास्ता थिएन । उनी चुपचाप झापा पुगेर उम्मेदवारी दर्ता गरे । 

कुनैपनि उम्मेदवार उम्मेदवारी दर्ता गरेपछि आफ्नो निर्वाचन क्षेत्रमा प्रचार प्रसार सुरु गर्ला । यदि चुनावी माहौल तयार गर्न छिमेकी जिल्ला घुमघाम गर्ला । त्यस्तै परे सुदूर पूर्वी पहाडका जिल्लातिर घुम्न निस्केला । तर बालेन सुदूर पूर्वको झापामा उम्मेदवारी दर्ता गरेर सुदूरपश्चिमको यात्रामा दौडिए । उनी आफू निकै सशक्त भएको सन्देश दिन चाहन्थे । उनलाई एउटा कुरा थियो–नाकै अघिको मुक्काले हानेको प्रहार भन्दा कुम पछाडी तानेर हानेको मुक्काको प्रहार चोटिलो हुन्छ । उनले त्यसै गरे । सुदूरपूर्वमा उम्मेदवारी दर्ता गरेका बालेनले सुदूरपश्चिमको पहाडी जिल्लाबाट सोसल मिडियामा एउटा फोटो पोष्ट गर्दै लेखे ‘सुदूर अब दूर नाई झिक्कै झिक्कै माया तम्लाई’ । डोटेली भाषाको लवजमा लेखिएको यो स्ट्याटस निकै धेरै भाइरल भयो । यही स्ट्याटसबाट एआई मार्फत गीत समेत बनाईयो । बालेन चर्चाको शिखरमा रहे । उनलाई देख्न, सुन्न र छुन समेत भिड उर्लिन थाल्यो । उनले धेरै भाषण पनि गरेनन् । थोरै बोले तर जनतालाई छुने गरेर बोले । जनतालाई राजनीतिक दलहरुले बिगारे भन्ने लागेको थियो । उनले त्यही भने राजनीतिक दलले बिगारेको कुरा म सुधार्छु । जनताले उनलाई पत्याए । बालेनको नाममा रास्वपाले झण्डै दुई तिहाई मत प्राप्त गरेको कुरामा सायद सो दलभित्र पनि ठूलो विमती छैन होला । 

जनताले रास्वपाको उम्मेदवार हेरेनन् । उनले केवल बालेनलाई मात्रै हेरेका थिए । बालेनकै लहरमा कतिपय माननीय भन्न पनि लाजै लाग्ने व्यक्तिहरु संसद भवनमा देख्न सकिन्छ । आफ्नो क्षेत्रका जनताले राम्ररी नचिनेका मान्छे समेत माननीय भएका छन । सायद कतिपय भोटरलाई अहिलेसम्म माननीय को हो भन्ने समेत थाहा छैन होला । जेहोस बालेनको क्रेजले देशैभर राजनीतिक तरंग फैलाएको छ । 

बालेन नेतृत्वको वर्तमान सरकारले के कति काम गर्न सकेको छ त्यो मुल्यांकन गर्ने जिम्मा जनताको हो । स्थानीय तहको निर्वाचन नजिकिदै छ । युवाहरु आफूलाई प्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका आकांक्षी भन्न थालेका छन । यो कुरा अन्य पालिकाको तुलनामा टीकापुर नगरपालिकामा केही हदसम्म बढी नै छ । ती मध्ये कोही स्वतन्त्र छन भने कोही दलगत छन । तर उम्मेदवारको आकांक्षा गर्नेहरुमा धेरैजसो युवा नै छन । सोसल मिडियामा उनीहरु प्रतिको आम मानिसको प्रतिक्रिया हेर्दा पनि धेरैजसोले युवाहरुलाई समर्थन गर्ने बताईरहेका छन । यसले पनि युवाहरुको राजनीति प्रतिको आकर्षण झन बढेको देखिएको छ । 

युवाहरु राजनीतिमा आउने कुरा राम्रो हो । तर बालेनको क्रेज देखेर मात्रै राजनीति प्रतिको आकर्षण हुनु हुँदैन । किनकी बालेन यत्तिकै त्यो स्थानमा पुगेका हैनन् । उनी आफै एक सक्षम व्यक्ति हुन । त्यसका अलावा उनको पछि विज्ञहरुको ठूलो टिम छ । त्यो टिमले वर्षौ अध्ययन गरेर मात्रै बालेन बोल्छन । यसको उदाहरणका रुपमा २०७४ सालको स्थानीय तहको निर्वाचन ताका उनले लेखेको फेसबुक स्ट्याटस पनि एक हो । उनले अहिले कसैलाई मतदान गर्दैन अर्को पटक काठमाण्डौंको मेयरमा आफैलाई मतदान गर्छु भनेर लेखेका थिए । यसले के प्रमाणित गर्छ भने उनको २०७९ मा काठमाण्डौंको मेयर बन्ने तयारी २०७४ बाटै थियो । कुनैपनि युवाले म नेतृत्व गर्छु भन्नु भन्दा पहिले बालेनबाट धेरै कुरा सिक्न जरुरी छ । जसले जिते पनि एउटा राम्रो भिजन भएको युवाले जित्नुपर्छ ।  

र, अन्त्यमा 

नेतृत्वका लागि युवाहरु अघि सरेको कुरा त माथि उल्लेख गरिसके । तर युवाले नै जित्ने कुरा निश्चित छैन । आफूलाई स्वतन्त्र भनेका युवाले जित्छन कि नाँई ? राजनीतिक दलहरुबाट युवाले उम्मेदवारी पाउँछन कि नाँई ? यदि राजनीतिक दलबाट युवाले पाए भने फेरी उही कुरा जित्छन कि नाँई ? युवाले नै जित्यो भने पनि कुन दलको युवाले जित्छन ? कस्तो भिजन भएको युवाले जित्छन ? उनी पार्टीकै मेयर भएर बस्छन कि नगरबासीको मेयर बन्न सक्लान ? यो पटक यी धेरै कुरा सोचेर मतदान गर्नुपर्नेछ । यति कुरामा मतदाता सचेत हुनै पर्नेछ । नत्र भोलि थप पाँच वर्ष यो भएन त्यो भएन भनेर गुनासो गरेर बस्नु पर्नेछ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ८, २०८३  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update