Hamro Patra
चौबीस होइन, सात सय चल्ला वितरण गरेका हौंः अध्यक्ष वि.क.

टीकापुर, कात्तिक ९
कुखुराको चल्ला खरिद सम्बन्धी विषय सार्वजनिक भएपछि टीकापुर नगरपालिका वडा नं. १ का अध्यक्ष मोहन लुहार वि.क.ले आफ्‌नो ध्यानाकर्षण भएको जनाएका छन् । 

वडा नं. १ को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वि.क.ले केही अनलाइन तथा सामाजिक सञ्जालमा महालेखा परीक्षकको प्रतिवेदनलाई उल्लेख गर्दै सार्वजनिक भएको तथ्यप्रति आपत्ती जनाएका हुन् । अध्यक्ष वि.क.ले पत्रकार सम्मेलनमा २४ परिवारलाई २४ वटा र चारवटा टोल विकास संस्थाका चारजनालाई ३१ चल्ला कुखुराका वितरण गरिएको बताए । 

‘हामीले पालिकाको पशु सेवा शाखामार्फत श्री गुरुङ्ग पोल्ट्री फार्म, खजुरा बाँकेबाट अण्डा र मासुका लागि उपयुक्त मानिएका ८ हप्ताका ७ शय चल्ला वितरण गरेको हौं’ अध्यक्ष वि.क.ले भने ‘प्रति चल्ला २८५ रुपैयाँका दरले १ लाख ९९ हजार ५ सय रुपैयाँ खर्च भएको हो, सार्वजनिक भएको प्रतिवेदनमा २४ वटा मात्रै कसरी उल्लेख भयो, म अचम्म परेको छु ।’

Challa-Bill-1792998107.jpg
अध्यक्ष वि.क.ले पत्रकार सम्मेलनमा संलग्न बिल, भेटेरिनरी प्रमाणपत्र तथा चल्ला लिएको भर्पाइ सार्वजनिक गरेका हुन् । ‘समाचार सार्वजनिक गर्नुअघि सत्यतथ्य बुझेर मात्रै सार्वजनिक गरिदिन सबैलाई आग्रह गर्दछु’ अध्यक्ष वि.क.ले भने ‘भ्रामक तथ्य सार्वजनिक गरेर नागरिकलाई दिग्भ्रमित पार्ने प्रयासप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update