Hamro Patra
क्षतिपूर्ती र तत्काल पुर्नस्थापना गर्न एनपी साउदको माग 

काठमाण्डौं, असार २५
नेपाली कांग्रेसका सांसद एनपी साउदले गृह जिल्ला कञ्चनपुरमा बाढीबाट ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न र विस्थापितहरुलाई तत्काल पुनस्र्थापना गर्न सरकारसँग माग गरेका छन् । 

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको सुरुवातमै सभामुख देवराज घिमिरेसँग समय माग्दै उनले स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक संघ–संस्थाको भरमा मात्रै कञ्चनपुरमा बाढी पु¥याएको विपदलाई छोड्न नसकिने बताए । 

Tikapur Hospital

‘कञ्चनपुरमा बाढीले ठूलो संख्यामा जीवन र धन दुबैको क्षति भएको छ । आवश्यक राहतको केन्द्र सरकारले प्रवन्ध गर्न र उद्धारका कामहरुलाई अगाडि बढाउन, दिवंगतका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न, विस्थापितहरुलाई तत्काल पुनस्र्थापनाको काममा पनि केन्द्र सरकारले ध्यानदिन आवश्यक छ,’ उनले भने, ‘स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक संघ–संस्थाको भरमा मात्रै यत्रो ठूलो विपदालाई छाड्न सकिन्न । यतातिर सरकारको ध्यान जाओस् ।’ 

साउदले पटक–पटक सरकारलाई बाढीको पूर्व तयारी गर्न, बाढी नियत्रणको काममा  सजग रहन आग्रह गरिए पनि सरकारले बाढी नियन्त्रण, तटबन्ध निर्माणमा उपयुक्त समयमा ध्यान नदिएकाले समस्या लगातार बढ्दै गएको पनि बताए ।    

‘पटक–पटक सरकारलाई बाढीको पूर्व तयारी गर्नुपर्छ भन्दै आएका छौँ । बाढी नियत्रणको काममा सरकार सजग रहनुपर्छ भन्दै आएका छौँ,’ उनले भने, ‘तर अहिलेसम्म सरकारले बाढी नियन्त्रण, तटबन्ध निर्माणमा उपयुक्त समयमा ध्यान नदिएकाले समस्या लगातार बढ्दै गएको छ ।’   

पूर्व परराष्ट्रमन्त्री समेत रहेका साउदले बाढी–पहिरोबाट देशभर ८० जनाको मृत्यु भइसकेको पनि संसदलाई जानकारी गराए । 
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update