Hamro Patra
बाबुको हत्या आरोपमा छोरा पक्राउ

बर्दिया, कात्तिक ९
लुम्बिनी प्रदेशको बर्दियामा बाबुको हत्या गरेको आरोपमा एक छोरालाई प्रहरीले पक्राउ गरेको छ । राजापुर नगरपालिका वडा नं. ३, सेन्द्राका २५ वर्षीय राजेन्द्र थारुलाई आफ्ना ५० वर्षीय बुवा कालुराम थारुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रवक्ता डीएसपी रेशम बोहराका अनुसार आइतबार राति करिब ११ बजे मदिराले मातेका राजेन्द्रले बुवा कालुराममाथि निर्घात कुटपिट गरेका थिए । कुटपिटका क्रममा हातको बालाले कालुरामको टाउकोमा चोट लागेको थियो ।

घाइते कालुरामलाई प्रहरीले उद्धार गरी उपचारका लागि सुरूमा प्राथमिक स्वास्थ्य केन्द्र राजापुर पुर्‍याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिहान १ बजेपछि बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा रिफर गरिएको थियो ।

त्यहाँ पनि उपचार सम्भव नभएपछि बिहान पौने ५ बजेतिर नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्समा लगिएको थियो । सोही अस्पतालमा उपचारका क्रममा कालुरामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय राजापुरबाट राति घटनास्थलमा खटिएका प्रहरी नायब निरीक्षक जनकजंग रावतका अनुसार बाबुछोराबीच यसअघि पनि घरव्यवहारका विषयमा झगडा हुने गरेको थियो ।

आइतबार राति बाबुछोरा दुबैले मदिरा सेवन गरेका थिए । सोही क्रममा आपसमा भनाभन भएपछि छोराले मुक्का प्रहार गर्दा बुवालाई गम्भीर चोट लागेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update