
बैतडी, असार २६
बैतडीका क्रियाशिल पत्रकार विनोद सिंह विष्ट युवा पत्रकारिता पुरस्कार–२०८१ बाट सम्मानित भएका छन् । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले विष्टलाई नगद ५० हजार पुरस्कारसहित सम्मान गरेको हो ।
राष्ट्रिय समाचार समिति(रासस) का बैतडी समाचारदाता विष्टलाई सिंहदरबारमा आज एक कार्यक्रमको आयोजना गरेर मन्त्रालयका सचिव सुमनराज अर्यालले खादा, प्रमाणपत्र र नगदसहित सम्मान गरेका हुन् ।
युवा सरोकारका विषयमा नेपाली छापा पत्रपत्रिका, रेडियो र अनलाइन समेतबाट समाचार सम्प्रेषण गरी युवा विकासमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै पत्रकार विष्टलाई नगद ५० हजार पुरस्कारसहित सम्मान गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पुरस्कारका लागि गत माघमा आवश्यक कागजपत्रसहित आवेदन आह्वान गरेकोमा र देशभरबाट आएका आवेदनमध्ये मन्त्रालयले गरेको मूल्यांकनको आधारमा विष्ट पुरस्कारको लागि छनौट भएका थिए ।
पत्रकार महासंघ बैतडीका सहसचिव समेत रहेका विष्टले उक्त पुरस्कार पाएपछि खुसी व्यक्त गर्दै पुरस्कारले पत्रकारिता पेसाप्रति थप जिम्मेवार बनाउनुका साथै पेसामै रहिरहन उर्जा मिलेको बताए ।
बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं. ३ श्रीकोट घर भएका पत्रकार विष्ट विगत १३ वर्षदेखि पत्रकारिता पेशामा क्रियाशिल रहँदै आएका छन् ।