
टीकापुर, असार ३०
कैलालीको टीकापुर नगरपालिकामा फेरि आज पनि आगलागी भएको छ । पालिकाको कार्यालयमा रहेको दोश्रो तलामा रहेको विद्युत बोर्डमा सर्ट भएर आगलागी भएको हो ।
कार्यालयमा विद्युत लोड बढ्दा धान्न नसकेर आगलागी भएको हुनसक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीले बताए । ‘अघिल्लो दिन पनि दिउँसोको समयमै आगलागी भएको थियो, आज पनि माथिल्लो तलाको बोर्डमा आगलागी भएको छ’ प्रमुख प्रशासकीय अधिकृत चौधरीले भने ‘विद्युत प्राधिकरणका अनुसार पालिकामा विद्युत आपूर्ति गर्ने ट्रान्सफर्मरको क्षमता कम र लोड बढी भएका कारण समस्या आएको हो ।’
विद्युत प्राधिकरण कार्यालय टीकापुरले ट्रान्सफर्मर फेर्ने तयारी गरेको चौधरीले बताए ।
कार्यालयमा एकपछि अर्को पटक विद्युतका बोर्डहरुमा आगलागी हुन थालेपछि सेवा प्रवाह समेत प्रभावित भएको छ । दोश्रो तलामा आर्थिक प्रशासन शाखा, शिक्षा शाखा, भवन तथा शहरीकरण शाखा, योजना शाखा र आर्थिक विकास शाखा छन् ।
असार २६ गते समेत कार्यालयको भुइँतलाको विद्युत बोर्डमा आगलागी भएको थियो । दिउँसो भएको उक्त आगलागीबारे तत्काल थाह हुँदा ठूलो क्षति हुनबाट जोगिएको थियो ।
यो पनि पढ्नुहोस