Hamro Patra
टीकापुर गोल्डकप स्थगितः केही दिनमै नयाँ मिति तय गरिने

टीकापुर, असोज २९
कार्तिक १२ गतेदेखि टीकापुरमा आयोजना हुने भनिएको टीकापुर गोल्डकप स्थगित गरिएको छ । टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा पहिलो पटक हुने भनिएको गोल्डकप आवश्यक तयारी नपुग्दा स्थगित गरिएको हो । 

संघका अध्यक्ष सन्तोष खड्काले गत भदौ १० गते रसुवामा आएको बाढीको प्रभाव, तयारीको कमी र आर्थिक श्रोत नजुटेका कारण गोल्डकप अर्को मिति तय नभएसम्मका लागि स्थगित गरिएको बताए । 

‘मुख्य रुपमा भोटेकोशी नदीमा आएको बाढीका कारण आवश्यक तयारीमा समस्या देखिएपछि निर्धारित समयमा गोल्डकप गर्न नसकिने भएको हो’ अध्यक्ष खड्काले भने ‘सुर्खेतमा हुने १६औं राष्ट्रिय खेलकुदको तालिकाले समेत केही प्रभावित भएको छ, त्यो लगत्तै गोल्डकप यसै वर्ष आयोजना गर्नेछौं ।’

अध्यक्ष खड्का अनुसार प्रतियोगिताका म्याच कमिशनार दयाराम दाहालले केही दिनमा गोल्डकपको नयाँ मिति तय गर्नेछन् । देशका विभिन्न ठाउँमा हुने फुटबल प्रतियोगिताको समय तालिकालाई मध्यनगर गर्दै नयाँ मिति तय गरिनेछ । 

‘आर्थिक श्रोत जुटाई रहेका छौं, प्रदेश सरकारको बजेट ढिलो गरी आयो, नगरपालिकाले समेत केही निर्णय गर्न सकेको छ्रैन’ अध्यक्ष खड्काले भने ‘बाह्य श्रोत समेत बाढीका कारण सुनिश्चित हुन नसकेपछि केही चुनौति थपिएको छ ।’

आयोजक संघले टीकापुर गोल्डकप बिजेतालाई ७ लाख नगद उपविजेताले ४ लाख नगद र तेस्रो हुनेलाई १ लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने घोषणाा गरेको थियो । 

संघले प्रतियोगिता टीकापुर नगरपालिका वडा नं. ५ पार्करोडस्थित खड्ग स्मृति रंगशालामा आयोजना गर्ने जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update