टीकापुर, असोज ३०
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले नगरपालिकाको निर्वाचनमा उम्मेदवार हुन चाहनेहरुका लागि आवेदन आव्हान गरेको छ । आगामी स्थानीय तह निर्वाचनका नगर पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्य हुन चाहनेहरुका लागि पार्टीले बिहीवारदेखि नगरपालिका क्याण्डिडेट क्लब मार्फत् आवेदन आव्हन गरेको हो ।
देशका विभिन्न नगरपालिकाको नेतृत्व गर्न चाहनेहरुले क्लबमार्फत् आवेदन पेश गर्न भनिएको छ । टीकापुर नगरपालिकाको नगर प्रमुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका कैलाली सचिव एवं जिल्ला संगठन विभाग प्रमुख गणेश बहादुर शाहीले आवेदन दिएका छन् ।
शाही शिक्षा, शैक्षिक नेतृत्व, वैदेशिक अध्ययन तथा रोजगारी र उद्यमशीलताको अनुभव हाँसिल गरेर रास्वपाको जिल्ला सचिवमा कार्यरत छन् । विभिन्न विद्यालयमा शिक्षण पेशा गरेका शाहीले साढे छ वर्ष जापानमा अध्ययन तथा रोजगारी गरेर फर्किएका हुन् ।
टीकापुरस्थित ग्रेटहल एजुकेशन कन्सल्टेन्सी, नेपालगञ्ज र चिसापानीस्थित होटल ग्रेड प्याराडाइजका सञ्चालक हुन् । विदेशबाट फर्किएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना कालदेखि नै पार्टीमा आबद्ध भएका शाही संगठन निर्माण, विस्तार र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन् ।
शिक्षा, व्यवस्थापन, उद्यमशीलता र संगठनात्मक अनुभवलाई टीकापुरको विकास, सुशासन, रोजगारी सिर्जना र स्थानीय स्रोत साधनको सदुपयोग गर्ने उद्देश्यका साथ टीकापुर नगरपालिकाको नगर प्रमुख पदमा आवेदन पेस गरेको शाहीले बताए ।
नेपालबाट विदेश जाने विद्यार्थीलाई वैदेशिक अध्ययनसम्बन्धी परामर्श तथा शैक्षिक सेवा प्रदान गर्दै आएका शाही टीकापुर नगर प्रमुखका प्रमुख दाबेदारका रुपमा चिनिन्छन् ।
टीकापुरबाट नगर प्रमुखका लागि रास्वपाका नगर सभापति इञ्जिनियर रवीन्द्र विष्ट, लोकबहादुर बिसी र टीकापुर नगरपालिका वडा नं. २ का युवा यज्ञमान सेठ्ठीले आवेदन पेश गरेका छन् ।




