टीकापुर, असोज ३०
चालु आर्थिक वर्षको बजेट सम्बन्धी विवादका कारण सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेको एक सिट रिक्त भएको छ । एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री वीरबहादुर थापाको राजीनामा स्वीकृत भएसँगै उनको प्रदेश सभा सदस्य पद रिक्त भएको हो ।
प्रदेश सभा सचिवालयले थापाले दिएको राजीनामा स्वीकृत गरेको जनाएको छ । उनले गत मंगलबार प्रदेश सभाबाट बजेट पारित भएलगत्तै सांसद पदबाट राजीनामा दिएका थिए । राजीनामा दिएको तीन दिनपछि उनको राजीनामा स्वीकृत भएको हो ।
थापा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (१) बाट निर्वाचित भएका थिए । उनी यसअघि सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीसमेत बनेका थिए ।
बजेट पारित गर्ने प्रक्रियाका क्रममा प्रदेश सभाभित्र देखिएको विवादका बीच थापाले सांसद पदबाट राजीनामा दिएका हुन् । बजेटमा आफ्नो निर्वाचन क्षेत्रका लागि पर्याप्त विकास योजना समेटिन नसकेको र बजेट निर्माण तथा पारित प्रक्रियामा देखिएको अवस्थाप्रति असन्तुष्टि जनाउँदै उनले पद छाडेको बताएका थिए ।
उनको राजीनामा स्वीकृत भएसँगै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ (१) को प्रदेश सभा सदस्य पद रिक्त भएको छ। यससँगै सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेको प्रतिनिधित्व एक सिटले घटेको छ ।




