
टीकापुर, असार २५
सुदूरपश्चिम प्रदेश मातहतका टीकापुर अस्पतालसहित नौ वटा अस्पताल विगत तीन महिनादेखि अध्यक्षविहीन छन् ।
अस्पतालको भौतिक विकास, आन्तरिक र बाह्य व्यवस्थापन गर्दै अस्पतालको गुणस्तरीय सेवा प्रवाह गर्न अस्पताल विकास समिति गठन हुँदै आएकोमा विगत तीन महिनादेखि यी अस्पतालहरु अध्यक्षविहीन छन् ।
सुदूरपश्चिमका सेती र महाकाली प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, दार्चुला, बैतडी, बझाङ, अछाम, बाजुरा र डोटी जिल्ला अस्पताल नेतृत्वविहीन रहेको सामाजिक विकास मन्त्रालयका अस्पताल तथा चिकित्सा सेवा महाशाखाका प्रमुख चेतराज जोशीले बताए ।
सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेका अस्पतालमा चैत अन्तिम सातादेखि विकास समितिविहीन भएका हुन् । अस्पताल विकास समिति नहुँदा समितिबाट गराउनुपर्ने नीतिगत निर्णय तथा विविध समस्या समाधानका लागि समन्वयात्मक भूमिकामा कठिनाई भइरहेको छ ।
नेतृत्वविहीन हुँदा समितिको नियमित बैठक, कर्मचारीको भत्ता र करारका कर्मचारीको म्याद थपका विषयमा समेत अन्योलता भएको छ । अस्पतालको अध्यक्ष हुन सुदूरपश्चिमका सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरु दौडधुप गर्दै आए पनि प्रदेश सरकारले समिति गठनबारे चासो नदिएको बताइन्छ ।