टीकापुर, मंसिर ६
माउन्ट सैपाल इन्टरनेशनल एकेडेमी, टीकापुरका शिक्षकहरूका लागि डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता (AI) तथा अक्षमाला ईआरपीसम्बन्धी एकदिने प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणमा सूचना प्रविधि विज्ञ तथा सफ्टवेयर डेभलपर धिरेन्द्र चन्द सोडारीले सहजीकरण गरेका थिए ।
उनले नेपालमै विकास गरिएको अक्षमाला ईआरपी (Akshamala ERP – AI Based School & College Management System) मार्फत विद्यालयका सम्पूर्ण शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय गतिविधिलाई एउटै एकीकृत डिजिटल प्रणालीबाट सञ्चालन गर्न सकिने विषयमा जानकारी गराए ।
प्रशिक्षणका क्रममा विद्यार्थी भर्ना व्यवस्थापन, शुल्क व्यवस्थापन, लेखा व्यवस्थापन, डिजिटल हाजिरी, परीक्षा तथा नतिजा व्यवस्थापन, सूचना तथा नोटिस व्यवस्थापन र लर्निङ म्यानेजमेन्ट सिस्टम (LMS) लगायतका विभिन्न मोड्युलबारे जानकारी दिइएको थियो ।
त्यसैगरी शिक्षकहरूले मोबाइल तथा कम्प्युटरको माध्यमबाट विद्यार्थीलाई गृहकार्य तथा असाइनमेन्ट दिन, सिकाइ सामग्री उपलब्ध गराउन, गृहकार्य जाँच गर्न र विद्यार्थीको शैक्षिक प्रगतिको अनुगमन गर्न सक्ने सुविधाबारे व्यवहारिक अभ्यास गराइएको थियो । अक्षमाला ईआरपीमार्फत प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक तथा प्रशासनिक कर्मचारीका लागि छुट्टाछुट्टै भूमिका र जिम्मेवारीअनुसार ड्यासबोर्ड तथा लगइन सुविधा उपलब्ध हुने विषयमा समेत जानकारी दिइएको थियो ।
प्रशिक्षक सोडारीका अनुसार अक्षमाला ईआरपीको प्रयोगबाट विद्यालयका दैनिक शैक्षिक तथा प्रशासनिक कार्यलाई कागजी प्रक्रियाबाट डिजिटल प्रणालीमा रूपान्तरण गर्न सकिन्छ । यसबाट शिक्षकको कार्यभार घटाउने, व्यवस्थापनलाई व्यवस्थित बनाउने तथा विद्यालयको समग्र शैक्षिक गतिविधिमा पारदर्शिता र प्रभावकारिता अभिवृद्धि गर्न सहयोग पुग्नेछ ।
सूचना प्रविधि, शैक्षिक प्रविधि तथा सफ्टवेयर विकासको क्षेत्रमा लामो समयदेखि सक्रिय सोडारीले देशभरका विभिन्न विद्यालय तथा कलेजहरूमा डिजिटल प्रविधि, एआई, शिक्षण–सिकाइ र शैक्षिक व्यवस्थापन प्रणालीसम्बन्धी प्रशिक्षण तथा परामर्श प्रदान गर्दै आएका छन् ।





