टीकापुर, मंसिर १२
टीकापुर उद्योग वाणिज्य संघले टीकापुरका पूराना व्यवसायी गंगाराम चपाईलाई खड्ग स्मृति सम्मानबाट अभिनन्दन गरेको छ ।
संघको २७औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा चपाईलाई उक्त सम्मानबाट अभिनन्दन गरेको हो ।
संघका पूर्व कोषाध्यक्ष समेत रहेका चपाई टीकापुरको स्थापना कालदेखि नै चार चौतारी रेडिमेड सेन्टर सञ्चालन गर्दै आएका थिए ।
चपाईलाई कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाटले सम्मान गरेका हुन् ।
संघले यस क्षेत्रका सामुदायिक विद्यालयहरुमध्ये राष्ट्रिय माध्यमिक विद्यालय टीकापुर–५ मनिकापुरमा कक्षा ९ मा अध्ययनरत छात्रा अनुष्का चौधरी, ज्ञानोदय आधारभूत विद्यालय नुक्लीपुरमा कक्षा ३ मा अध्ययनरत छात्र आयुष चौधरीलाई नगद ५ हजार ५ रुपैयाँसहित जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।
त्यस्तै टीकापुर–५ स्थित त्रिभुवन राष्ट्रिय माध्यमिक विद्यालय मौरनियाँमा कक्षा ५ मा अध्ययनरत छात्रा सुपेज्ञा चौधरी र टीकापुर–४ बाघरामास्थित जनप्रकाश आधारभूत विद्यालयमा कक्षा ७ की छात्रा राधिका चौधरीलाई नगद ५ हजार ५ सहित जेहेन्दार छात्रवृत्ति प्रदान गरिएको हो ।
कार्यक्रममा ती विद्यालयहरुलाई समेत प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।




