Hamro Patra
संघीय कानुन निर्माण नहुँदा प्रदेशको काम प्रभावित भएको छ: मन्त्री भाट

टीकापुर, मंसिर १२

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाटले संघीय कानुन निर्माण नहुँदा प्रदेश सरकारले चाहेर पनि धेरै काम गर्न नसकेको बताएका छन् ।

टीकापुर उद्योग वाणिज्य संघको २७औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै मन्त्री भाटले संघीय सरकारले आवश्यक कानुन नबनाउँदा प्रदेशको विकास र औद्योगिक प्रवर्द्धनमा समस्या भइरहेको बताए ।

‘उद्योग कलकारखाना सञ्चालन गर्न चाहने लगानीकर्तालाई कर तथा बिजुलीमा छुट दिन सक्ने अवस्था छैन । उद्योग स्थापनाका लागि जग्गा उपलब्ध गराउन पनि सकिरहेका छैनौँ,’ उनले भने, ‘संघीय कानुन नबन्दा प्रदेशले गर्नुपर्ने धेरै काम गर्न सकेका छैनौँ ।’

उनले पछिल्लो समय देशका उद्योगी तथा व्यवसायीमा त्रास र असुरक्षाको वातावरण रहेको पनि बताए । ‘अराजकताले पराकाष्ठा नाघेको छ । देशले भोगी रहेका समस्या टीकापुरले पनि भोगिरहेको छ,’ उनले भने ।

निजी क्षेत्रलाई बलियो बनाउने गरी नीति निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले निजी क्षेत्रमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।

दोधारा चाँदनी सुक्खा बन्दरगाह सञ्चालनमा आएपछि सुदूरपश्चिमको विकासले फड्को मार्ने विश्वास व्यक्त गर्दै उनले प्रदेशमा औद्योगिक तथा व्यावसायिक सम्भावना धेरै रहेको बताए । ती सम्भावनाको प्रवर्द्धनका लागि सरकारले काम गरिरहेको उनको भनाइ थियो ।

मन्त्री भाटले प्रदेश सरकारको बजेटमा केही त्रुटि रहेको स्वीकार गर्दै त्यसलाई सुधार गर्ने प्रयास भइरहेको पनि बताए ।

‘अघिल्लो सरकारले कमजोरी गर्दा स्वीकार गर्दैनथ्यो, तर अहिले हामीले कमजोरी स्वीकार गरेका छौँ,’ उनले भने, ‘अहिलेसम्म योजना बैंक बन्न सकेको छैन । योजना छनोटका मापदण्ड पनि तयार हुन सकेका छैनन् ।’

बजेटको त्रुटि सच्चाउन समिति गठन गर्ने तयारी भइरहेको मन्त्री भाटले बताए । बजेट कार्यान्वयनको चरणमा रहेकाले कार्यान्वयनका क्रममा देखिने समस्या सुधार गर्दै जाने उनको भनाइ थियो । 

टीकापुरको आफ्नै विशिष्ट पहिचान रहेको उल्लेख गर्दै मन्त्री भाटले यसको विकास र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरीले प्रदेश सरकारले गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाए । प्रदेश सभा सदस्य ललिता सुनारले उद्योगी तथा व्यवसायीहरू विभिन्न समस्याका कारण मारमा परेको बताइन् ।

टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष खड्काको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा सहभागी वक्ताहरूले टीकापुर क्षेत्रका उद्योगी तथा व्यवसायीका समस्या र सम्भावनाबारे धारणा राखेका थिए ।

अध्यक्ष खड्काले टीकापुरलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउँदै यस क्षेत्रको समृद्धिका लागि सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताए ।

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update