Hamro Patra
सुदूरपश्चिम प्रदेशले ७० प्रतिशत बजेट खर्च गर्यो

धनगढी, असार २७
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको ७०.६५ प्रतिशत खर्च गरेको छ । कुल ३१ अर्ब ५३ करोड ६६ लाख २१ हजार बजेटमध्ये २२ अर्ब २८ करोड १३ लाख ३४ हजार खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

पुँजीगततर्फ ६६.५० प्रतिशत र चालुतर्फ ७६.८१ प्रतिशत खर्च भएको छ । यस वर्ष पुँजीगततर्फ १८ अर्ब ७५ करोड ६९ लाख ७३ हजार रुपैयाँ विनियोजन गरिएकोमा १२ अर्ब ४७ करोड २७ लाख ६० हजार खर्च भएको छ । 

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार यस वर्ष चालुतर्फ विनियोजित १२ अर्ब ७७ करोड छ लाख ४८ हजारमध्ये नौ अर्ब ८० करोड ८५ लाख ७४ हजार रुपैयाँ खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक बाशुदेव जोशीले यस वर्षको खर्च प्रतिशत प्रदेशको हालसम्मकै उच्च रहेको बताए ।

‘यस वर्ष भएको खर्च प्रदेशमा हालसम्मकै बढी हो, विगतका वर्षमा खर्च प्रतिशत यति पुगेको थिएन’ उनले भने, ‘पूर्वाधार कार्यालयहरुमा राम्रो खर्च भएको छ ।’ यस वर्ष पुँजीगत खर्च पनि सबैभन्दा बढी भएको जोशीले बताए । गत वर्ष पुँजीगत ६२ प्रतिशतसहित कुल ६३ प्रतिशत खर्च थियो ।

आर्थिक वर्षको अन्त्यमा ठूलो बजेट रकमान्तर भएकाले पनि यस वर्ष पुँजीगत खर्च बढी देखिएको बताइएको छ । आर्थिक मामिला मन्त्रालय स्रोतका अनुसार बजेटका योजना कार्यान्वयन भन्दा पनि विगतदेखिको दायित्व रहेका क्रमागत योजनामा ठूलो बजेट रकमान्तर भएकाले खर्च बढेको हो ।

प्रदेशमा असार महिनामा मात्रै करिब २९ प्रतिशत बजेट खर्च भएको देखिएको छ । त्यसअघिका नौ महिनामा भने सरकारले अपेक्षाअनुसार खर्च गर्न सकेको थिएन । पूँजीगततर्फ खर्च भएकोमध्ये आधा बजेट असारको २५ दिनमै भुक्तानी भएको छ ।

पुँजीगततर्फ खर्च भएको १२ अर्ब ४७ करोड २७ लाख ६० हजारमध्ये असारमा मात्रै छ अर्ब १९ करोड ६३ लाख ८३ हजार रुपैयाँ भुक्तानी भएको प्रदेश लेखाले जनाएको छ । जेठ मसान्तसम्म पुँजीगत खर्च ३३.४६ प्रतिशतमात्र थियो । चालु वर्षको भुक्तानी हुने अन्तिम दिन बुधबारमात्रै पुँजीगतको दुई अर्ब र चालुतर्फको ४० करोड भुक्तानी भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update