
टीकापुर, असार २९
टीकापुर नगरपालिकाको आव २०८१÷०८२ को वार्षिक सेवा प्रवाह, योजना र कार्यक्रमको सार्वजनिक सुनुवाई आज सम्पन्न भएको छ ।
वडा नम्बर ४ को कार्यालय अस्नेहरीमा सम्पन्न भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल, राजश्व शाखा प्रमुख नन्दबहादुर केसी, शहरी पूर्वाधार शाखा प्रमुख नवराज जोशी र लेखा शाखा प्रमुख लक्ष्मी ओडले चालु आवमा भएका कामको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विभिन्न २२ जनाले सरोकारवालालाई प्रश्न सोधेका थिए । उनीहरुले विमानस्थल सञ्चालन, गुलाब सिटीका साथै नगरपालिका भित्र भएका अनियमितताका बारेमा समेत प्रश्न गरेका थिए ।
केही सहभागीहरुले गाउँघरमा भोग्दै आएका समस्या राखेका थिए । टीकापुर नगरपालिका वडा नम्बर ४ बाघमाराकी गुड्डीदेवी साउँदले बैठक घर नभएका कारण मासिक बैठक बस्न समस्या भैरहेको बताईन । उनले जग्गा भएर पनि बैठक घर निर्माण नगरेको गुनासो गरिन ।
सोही ठाउँकी अमृता चौधरीले जग्गाको लालपूर्जा नभएको बताईन । वडा नम्बर २ बन्दिपुरका धनविर रावतले आफ्नो व्यक्तिगत जग्गामा सडक बनाएको दुखेसो पोखे । उनले धेरै पटक नगरपालिका धाए पनि आफ्नो कुरा कसैले नसुनेको बताए ।
सो अवसरमा नेकपा एमालेका प्रतिनिधि मातृका तिमिल्सिनाले शिक्षाको गुणस्तर उकास्न अनुगमन, कोटेसन नियन्त्रण र जनप्रतिनिधि र कर्मचारीले सुविधामा नियन्त्रण गर्न आवश्यक रहेको सुझाव दिए ।
नेकपा एसका प्रतिनिधि रंग अधिकारीले आन्तरिक आयका स्रोतको पहिचान गरेर समयमै पहलकदमी हुनुपर्ने बताए ।
पूर्वमेयर तपेन्द्रबहादुर रावलले कर्मचारी भर्ना, भ्रमण लगायतका विषयमा नेतृत्वले मनपरी गरेको बताए । उनले सुशासन र विधिसम्मत ढंगले अघि बढ्नुपर्ने सुझाव दिए । ‘जनताको रकम जथाभावी खर्च गर्न पाईदैन’ उनले भने–‘आवश्यक ठाउँको बजेट काटेर अनावश्यक खर्च गर्न हुन्न ।’ उनले विशेषज्ञ चिकित्सक सेवामा बजेट कटौती गरेको प्रति आपत्ती जनाए ।
सहभागीका प्रश्नको जवाफ दिँदै प्रमुख प्रशासकीय अधिकृत रविन्द्रप्रसाद चौधरीले राय सुझावले अघि बढ्न प्रेरित गरेको बताए । उनले विगतका कमी कमजोरीलाई दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गरे । उनले महालेखापरिक्षणको प्रतिवेदनले दिएका सुझावलाई लेखा समितिमा छलफलको विषय बनाएर सुधारको प्रयास गरिने बताए ।
मेयर रामलाल डगौरा थारुले सुझाव ग्रहण गर्दै सुधार गर्ने बताए । उनले आफ्ना कमी कमजोरीलाई ढाकछोप गरेर अर्कालाई आरोप लगाउने कुरा स्विकार्न नसकिने बताए । ‘म हुँदा राम्रो अरु हुँदा नराम्रो भन्ने सोचले नै टीकापुरको विकास नभएको हो’ उनले भने–‘हिजोको अनुभव हामीलाई पनि छ ।’ उनको यो भनाई पूर्वमेयर रावल प्रति लक्षित थियो ।
उनले कुनै राजनीतिक दलको असहयोगका कारण टीकापुरमा संघ र प्रदेशबाट बजेट आउन नसकेको बताए । ‘टीकापुर बनाउन को कसरी लागेको छ । मलाई राम्ररी थाहा छ’ उनले भने–‘एउटाले बजेट माग्न जाउ भने अर्कोले त्यो थारुलाई किन हिरो बनाउने भन्दै बजेट नहाल भनेर असहयोग गरे ।’
उनले टीकापुरका हरेक सम्भावनालाई उजागार गर्न आफू लागिपरेको बताउँदै सबैको सहयोगको अपेक्षा गरेको बताए । उनले दलीय, भेगीय, जातीय सोच भन्दा माथि उठेर स्व. खड्गबहादुर सिँहको जस्तै भावना र विचार हुनुपर्ने बताए ।
उनले टीकापुरका परिकल्पनाकार स्व. सिँहको अस्तित्व नस्विकार्नेहरुले नै टीकापुरको अहित चाहेको बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण सामुदायिक रेडियो टीकापुर एफएमले गरेको थियो ।