टीकापुर, साउन १
टीकापुर नगरपालिकाले आजदेखि टीकापुरमा प्लाष्टिक झोलाको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । पालिकाले साउन १ गतेदेखि टीकापुर नगरपालिका प्लाष्टिकजन्य वस्तु प्रतिवन्ध सम्बन्धी ऐन २०८० अनुसार पालिकाभित्र प्लाष्टिक झोला बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो ।
पालिकाले प्लाष्टिक झोलाको विकल्पमा अहिले उपभोक्ताले कपडा, फाईबर, कागज, ईको ब्याग जस्ता झोलाहरु प्रयोग गर्न सबै नगरबासीमा आग्रह गरेको छ ।
उक्त ऐनमा ऐन विपरित काम गर्ने बिक्रेता वा प्रयोगकर्तालाई कसुरको मात्रा हेरी जरिवाना गर्न सक्ने व्यवस्था छ । बिक्रेतालाई पहिलो पटक १ हजार, दोस्रो पटक ३ हजार र तेस्रो पटकदेखि हरेक पटक ५ हजार रुपैयाँका दरले जरिवाना गर्ने व्यवस्था छ ।
त्यस्तै प्लाष्टिक झोला प्रयोगकर्तालाई पहिलो पटक १०, दोस्रो पटक ५० र तेस्रो पटक १ सय रुपैयाँ जरिवाना गरिने ऐनमा व्यवस्था रहेको बताइएको छ । त्यसपछि पनि प्रयोग गरे नाम सार्वजनिक गरी अन्य दण्ड सजाय समेत गर्न सकिने व्यवस्था रहेको छ ।
ऐनमा प्लाष्टिकको झोला उत्पादककर्तालाई समेत जरिवानाको व्यवस्था गरिएको छ । उत्पादककर्तालाई पहिलो पटक २ हजार, दोस्रो पटक ४ हजार र तेस्रोपटक ६ हजार रुपैयाँ जरिवाना गरिनेछ। त्यसपछि समेत अटेर गरे नाम सार्वजनिक गरी अन्य दण्ड सजायलाई अगाढी बढाइने बताइएको छ ।
नगर प्रमुख रामलाल डगौराले नगर क्षेत्रमा दिन प्रतिदिन प्लाष्टिकजन्य फोहोर बढ्दै जाँदा नगरवासीहरुको जनस्वास्थ्य र समग्र वातावरणको प्रतिकुल प्रभाव परेकाले नगरलाई सफा, स्वच्छ, सुन्दर र हरियाली बनाउन फोहरमैलाको स्रोतमा न्यूनिकरण, पुनः प्रयोग, पुनः चक्रण वा बिसर्जन गर्ने काममा सहयोग गर्न नगरबासीलाई आग्रह गरेका छन् ।