
टीकापुर, साउन १३
राष्ट्रिय गौरबको आयोजना रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको सिँचाइ, जलविद्युत गृह तथा प्रशारण लाइनको प्रधानमन्त्री केपी शर्मा आलीले आज उद्घाटन गरेका छन् ।
जानकी गाउँपालिका वडा नं. ९ कटासेमा निर्माण भएको ४.७१ मेगावाट क्षमताको विद्युत गृह, प्रसारण लाइन र आयोजनाको पहिलो चरणमा निर्माण सम्पन्न भएको १४ हजार ३ शय हेक्टर क्षेत्रफलको सिँचाइ आयोजनाको आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले उक्त आयोजनालाई नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धी भएको बताउँदै यसले नेपालको ग्रामीण जीवनशैली, कृषि उत्पादन, ऊर्जा आत्म निर्भरता र खाद्य सुरक्षासँगै सम्वृद्धिको मार्गचित्र प्रस्तुत गरेको बताए ।
‘१ शय २० वर्षअघिको स्थानीय किसानको सामुहिक प्रयास र परम्परागत सीपबाट शुरु भएको रानी, जमरा, कुलरिया सिँचाइ प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गरिएको छ’ प्रधानमन्त्री ओलीले भने ‘आयोजनाले यस क्षेत्रको ग्रामीण जीवनशैली, कृषि उत्पादन, ऊर्जा आत्मनिर्भरता र खाद्य सुरक्षासँगै सम्वृद्धिको मार्गचित्र देखाएको छ ।’
प्रधानमन्त्री ओलीले आयोजनाको तेश्रो चरणको आयोजना निर्माणका लागि विश्व बैंकसँग ऋण लिने सरकारले निर्णय गरेको बताए । ‘आयोजनाको तेश्रो चरणको निर्माणका लागि हिजो साँझ बसेको मन्त्रीपरिषदको निर्णयबाट हामीले विश्व बैंकबाट ऋण लिने निर्णय गरेका छौं’ प्रधानमन्त्री ओलीले भने ‘तेश्रो चरणको निर्माणपछि आयोजनाले ३८ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने छ ।’
कार्यक्रममा बोल्दै सरकार उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सरकारले सुदूरपश्चिमका कर्णाली, पश्चिम सेती, पञ्चेश्वर जस्ता ठूला परियोजना निर्माणमा अघि बढेको बताए ।
‘कर्णाली विद्युत आयोजनासहित सुदूरपश्चिम प्रदेशमा मात्रै २० हजार मेगावाट विद्युत क्षमता रहेको छ, त्यसमा मन्त्रालय र सरकार लागि परेको छ’ मन्त्री खड्काले भने ‘सुदूरपश्चिमका अपार सम्भावनालाई विकासमा बदल्न सरकारले काम गरिरहेको छ ।’
कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहले प्रधानमन्त्री ओलीले लम्की बरेली प्रसारण लाइन, सेती लोकमार्ग, विभिन्न जलविद्युत आयोजनाको काम तत्काल अघि बढाउन आग्रह गरेका छन् ।
‘प्रधानमन्त्री ज्यूको केही दिनमै हुने भारत भ्रमणका क्रममा लम्की बरेली प्रसारण लाइन, पञ्चेश्वर आयोजनाको विषयमा ठोस् निर्णय हुने अपेक्षा गरेका छौं’ मुख्यमन्त्री शाहले भने ‘सुदूरपश्चिमको समृद्धिका लागि बेतन कर्णाली, पश्चिम सेती आयोजना सहित गेटा विश्वविद्यालय सञ्चालनका लागि पर्याप्त बजेट उपलब्ध गराउनेतर्फ ध्यानाकर्षण गराउँदछौं ।’
रानी जमरा कुलरीया सिँचाइ आयोजना सूचना अधिकारी नवीन पौड्यालका अनुसार हालसम्म आयोजनाको ७५ प्रतिशत काम मात्रै सम्पन्न भएको छ । ‘सिङ्गो आयोजनाको काम ७५ प्रतिशत मात्रै सकिए पनि १४ हजार ३ शय हेक्टरमा सिँचाइ गर्न तथा जलविद्युत र प्रशारण लाइन निर्माणको काम सकिएपछि आज उद्घाटन गरिएको हो’ पौड्यालले भने, ‘बाँकी २५ प्रतिशत काम भने छ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।’
यस्तै ४.७१ मेगावाट क्षमताको जलविद्युत् तथा प्रसारण लाइनको काम पनि सम्पन्न भएर डेढ वर्षअघि नै विद्युत उत्पादन सुरु भइसकेको थियो । तर, त्यसको सञ्चालन तथा व्यवस्थापन कार्यविधि भने अझै स्वीकृत भएको छैन । आयोजनाले एक अर्ब रुपैयाँ खर्च गरेर जलविद्युत गृह निर्माण गरेकोमा उत्पादित विद्युत बिक्री गरी २५ वर्षमा सिँचाइ आयोजनाको सम्पूर्ण लगानी उठ्ने अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०६६/०६७ सालमा आयोजनाको निर्माण सुरु भएको थियो । सूचना अधिकारी पौड्यालका अनुसार आयोजनाको मूल उद्देश्य रानी, जमरा र कुलरिया सिँचाइ प्रणालीको १४ हजार तीन सय हेक्टर, नयाँ शाखा नहर विस्तारमा छ हजार हेक्टर र सिञ्चित क्षेत्र विस्तार अन्तर्गत पथरैयादेखि कान्द्रा नदीसम्मको थप १८ हजार हेक्टर गरी ३८ हजार तीन शय हेक्टर खेतीयोग्य जमिनमा वर्षेभरि सिँचाइ सुविधा उपलब्ध गराउने हो ।
नेपाल सरकारबाट स्वीकृत गुरुयोजना अनुसार २० हजार तीन शय हेक्टर क्षेत्रफलको निर्माण कार्य आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, उक्त काम सम्पन्न हुन अझै छ वर्ष लाग्ने देखिएको हो ।
नेपाल सरकार तथा विश्व बैंकको संयुक्त लगानीमा आर्थिक वर्ष २०६७/६८ देखि आर्थिक वर्ष २०८०/८१ सम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ कुल लागत २७ अर्ब ७० करोड २५ लाखको खरिद गुरुयोजना ०७४ चैत १५ गते सरकारले स्वीकृत गरेको थियो । तर, निर्धारित समयमा काम सम्पन्न नहुँदा आयोजनाको लागत पनि बढ्दै गएको छ ।