
टीकापुर, साउन १५
टीकापुरमा केही दिनदेखि आन्दोलनरत सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले नगरपालिकामा तालाबन्दी गरेका छन् । कार्यालयमा रहेका कर्मचारीलाई बाहिर पठाएर उनीहरुले तालाबन्दी गरेका हुन् । सो क्रममा प्रहरी र सुकुम्बासी बिच झडपको स्थिति बनेको थियो ।
नगर प्रमुखका सचिवालय प्रमुख लोकबहादुर बुढाले तालाबन्दी गर्नेमा धकलपकल हुँदा कार्यालयका सिसा र गमला फुटेको बताए ।
‘आन्दोलनकारी र प्रहरीबिच धकलपकल हुँदा एउटा सीसा र केही गमला फुटेका छन्’ हाम्रो पत्रसँग बुढाले भने ‘उनीहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।’
पालिका भित्रका विभिन्न शिविरमा बसोबास गर्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले नगर प्रमुख रामलाल डगौरा थारुले उकालो अनलाइनमा दिएको अन्तरवार्ताका विरुद्ध चरणबद्ध आन्दोलन गरिरहेका छन् ।
उक्त अन्तरवार्तामा नगर प्रमुख थारुले नगरपालिकाले मात्रै सुकुम्बासीलाई जग्गा दिन नसक्ने र सो जग्गा टीकापुर बहुमुखी क्याम्पसको जग्गा भएकाले विकल्प खोज्नुपर्ने बताएका थिए ।