
टीकापुर, साउन १७
कैलालीको बर्दगोरियाको एक होटका कुकले चक्कु प्रहार गर्दा सोही होटलमा कार्यरत वेटर किशोरीको हत्या भएको छ ।
बर्दगोरियाको बौनियाँ बजारमा रहेको राजधानी सेकुवा एण्ड म.म. सेन्टरमा काम गर्ने १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहारबाट हत्या भएको हो ।
बर्दगोरिया गाउँपालिका–३ घर भएकी सेजवाललाई सोही सेकुवा सेन्टरमा कुकको काम गर्ने युवकले चक्क प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहका अनुसार शनिबार बिहान १० बजेतिर सेजवालमाथि बर्दगोरिया–१ का ३३ वर्षीय नृप साँउदले चक्कु हानेका थिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सेजवाललाई उपचारका लागि तत्काल धनगढीको निसर्ग हस्पिटल पुर्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको डीएसपी सिंहले बताए ।
सेजवालको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल राखिएको छ भने उनीमाथि चक्कु प्रहार गर्ने साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको कारण बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।