Hamro Patra
जग्गा खाली गरी भूमिहीन, सुकुम्बासीलाई अन्यत्र व्यवस्थापन गर्न क्याम्पसको आग्रह

टीकापुर, साउन १७
सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको टीकापुर बहुमुखी क्याम्पसले आफ्‌नो अतिक्रमित जग्गा खाली गरी भूमिहीन, सुकुम्बासीलाई अन्यत्र व्यवस्थापन गर्न आग्रह गरेको छ । 

शनिवार एक विज्ञप्ति जारी गर्दै क्याम्पसले राज्यका सम्बन्धित निकायले यथाशीघ्र वास्तविक मुक्तकमैया, भुमिहीन सुकुम्बासीलाई अन्यत्र व्यवस्थापन गरी उनीहरुलाई बसोबासको दीर्घकालीन सुनिश्चितता गरेर क्याम्पसको अतिक्रमित जग्गा क्याम्पसकै भोगचलनमा ल्याइदिन आग्रह गरेको हो । 

‘क्याम्पसको अन्य प्रयोजनका साथै कृषि विज्ञानलाई कृषिका विविध कार्यक्रम सञ्चालनका लागि जग्गाको अभाव भइरहेको अवस्थामा क्याम्पसको शैक्षिक उन्नयनका लागि जग्गा क्याम्पसले उपभोग गर्नुपर्ने आवश्यकता देखिन्छ’ विज्ञप्तिमा भनिएको छ ‘उक्त जग्गा अतिक्रमण गरी बसेका व्यक्तिहरूले समेत सधैं नै अनिश्चितताको बन्दी हुनुभन्दा स्थायी बसोबासको प्रक्रियामा लाग्नुपर्ने देखिन्छ ।’

तत्कालीन टीकापुर विकास समितिले क्याम्पसलाई स्थापना कालमा ८० बिगाह र २०६२ जेठ १९ को बोर्ड बैठकबाट थप ३ शय विगाह जग्गा प्रदान गरेको थियो । उक्त ३ शय ८० बिगाह जग्गाको श्रेस्ता (लालपूर्जा) क्याम्पसको नाममा कायम छ । विज्ञप्तिमा ३ शय ८० विगाहमध्ये ३ शय विगाह जमिन २०६३ सालदेखि नै मुक्तकमैया, सुकुम्बासी, भूमिहीन जस्ता नाममा व्यक्ति तथा समूहद्वारा अतिक्रमित हुँदै आइरहेको उल्लेख छ । 

विज्ञप्तिमा अतिक्रमित भएको समयदेखि हालसम्म टीकापुर बहुमुखी क्याम्पसले पटक पटक सम्बन्धित व्यक्ति, निकाय, राज्यसँग बैठक, अन्तक्रिया, गोष्ठीको आयोजना गर्नुका साथै अनुरोध पत्र, ज्ञापनपत्र, ध्यानाकर्षण पत्र, प्रेस विज्ञप्ति तथा विविध खाले दबाबका माध्यमद्वारा निरन्तर पहलकदमी गर्दै आएको भनिएको छ । 

‘अतिक्रमित स्थानमा उक्त भौतिक संरचना निर्माण तथा सेवा सुविधा विस्तार नगरिदिनका लागि सम्बन्धित निकायमा क्याम्पसले पटक पटक आपत्ति जनाउँदै पत्र समेत पठाइएको थियो, यति हुँदाहुँदै पनि समस्या समाधान हुनुको सट्टा झन् अतिक्रमितको सङख्या बढ्दै जानु, राज्यका विभिन्न निकायहरूले बाटो, विद्युत्, खानेपानी, विद्यालय जस्ता भौतिक पूर्वाधारहरू निर्माण गर्दै जाने कार्यकलापले आश्चर्यजनक गैरजिम्मेवार तथा गैरकानुनी कार्य भइरहेको छ’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अब कोही पनि व्यक्ति निकाय, सम्बन्धित पक्ष भ्रमित नभई टीकापुर बहुमुखी क्याम्पसले आफ्‌नो नाममा रहेको सम्पूर्ण ३ शय ८० बिगाह जग्गा कानुनी रूपमा उपभोग गर्न पाउनुपर्दछ र यसको निकासका लागि क्याम्पस र विश्वविद्यालयले निरन्तर पहलकदमी गरिरहेका छन् र भविष्यमा पनि त्यसको निरन्तरता दिइरहने कुरा क्याम्पस परिवार सबैलाई जानकारी गराउन चाहन्छ भनिएको छ ।  

टीकापुरको अग्रणी शैक्षिक संस्था टीकापुर बहुमुखी क्याम्पस वि. सं. २०५८ सालमा सामुदायिक क्याम्पसको रुपमा स्थापना भई यस क्षेत्रका आर्थिक रूपले कमजोर विद्यार्थीहरुलाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । 

विद्यालयमा स्नातक तहमा बीबीए, बीबीएस, बीए, बीएड, पिबीएड र स्नातकोत्तर तहमा एमबीए, एमए, र एमएड जस्ता शैक्षिक कार्यक्रमहरूमा अध्ययन अध्यापन भइरहेका छन् भने विश्वविद्यालयको स्कुल अफ एग्रिकल्चर अन्तर्गत बीएस्सीएजी, एमएस्सीएजी का कक्षाहरू सञ्चालनमा छन् । क्याम्पसमै विश्वविद्यालयको कृषि विज्ञान सङ्कायको डिन कार्यालयसमेत रहेको छ ।

380ee09f-6e8f-4776-ac17-534788beca70-1754121498.jpeg
 

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update