Hamro Patra
अन्तरपालिका सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न

धनगढी, साउन १८
कैलाली जिल्लाका पालिकाहरुबीच अन्तरपालिका स्तरीय सिकाई आदान प्रदान कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको आयोजना तथा द एसिया फाउण्डेशन स्थानीय सरकार सबलीकरण कार्यक्रमको आर्थिक सहयोगमा अन्तरपालिका स्तरीय सिकार्य आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्लाका १२ वटा पालिकाहरुले आर्थिक वर्ष २०८१/०८२ मा गरेका उत्कृष्ठ अभ्यासहरुबारे प्रस्तुती गरेका थिए । 

कार्यक्रममा विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन न्यूनिकरणमा भइरहेका प्रयास, एकीकृत फोहोर मैला व्यवस्थापन, शिक्षा सुधारका लागि भइरहेका प्रयास, आर्थिक विकासका लागि परम्परागत सामग्रीको उत्पादन र बजारीकरण, स्वास्थ्य सेवा प्रबद्र्धन, कृषि प्रबद्र्धन लगायतका विषयमा पालिकाका प्रतिनिधिहरुले प्रस्तुती गरेका थिए । 

जिल्ला समन्वय समितिका संयोजक टीकाकुमारी चौधरी भुलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय अधिकारी भोजराज भटट्ले पालिकाले सम्पादन गरेका असल अभ्यासको सन्देश नागरिकलाई पुर्याउन आवश्यक रहेको बताए । उनले एउटा पालिकाले गरेको असल अभ्यास अन्य पालिकाका लागि सिकाई हुने भएकाले कार्यक्रम आयोजना गरिएको बताए । 

कार्यक्रममा बोल्दै जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले पालिकालाई गाउँ बनाउने कि शहर बनाउने भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताए । ‘हामी हाम्रो पालिकालाई गाउँ बनाउने कि शहर बनाउने भन्ने विषयमा स्पष्ट हुन आवश्यक छ’ अध्यक्ष चौधरीले भने ‘प्रकृति र संस्कृतिको सम्बद्र्धन, प्रबद्र्धन गरेर नेपाल समृद्ध हुन सक्ने भएकाले त्यही अनुरुपका नीति तथा कार्यक्रमहरु कार्यान्वयमा लैजानुपर्छ ।’

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक टीकाकुमारी चौधरी भुलले असल अभ्यास सिकाई आदानप्रदान कार्यक्रमले अन्य पालिकालाई प्रेरणा दिने बताउँदै फोहोरलाई मोहर बनाउने, सडकमा नाली अनिवार्य गर्ने, उत्पादनका आधारमा अनुदान दिने जस्ता कार्यक्रम कैलालीकै लागि उत्कृष्ठ रहेको बताइन् । 

कार्यक्रमको सहजीकरण बिमलराज जोशीले गरेका थिए ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update