
टीकापुर, भदौ १४
कैलालीमा लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । साढे पाँच किलो बढी चरेस र झण्डै पाँच ग्राम खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार धनगढी उपमहानगरपालिका वडा नं. २ त्रिनगरबाट डोटीको शिखर नगरपालिका वडा नं. ८ का ३५ वर्षीय बीरबहादुर रावललाई पक्राउ गरिएको छ । उनको साथबाट २ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो । लागुऔषध ब्युरो शाखा धनगढी, वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिगएको संयुक्त प्रहरी टोलीले रावललाई पक्राउ गरेको हो ।
यस्तै चुरे गाउँपालिका वडा नं. ३ का ३२ वर्षीय मोहन मल्ललाई पनि पक्राउ गरिएको छ । उनको साथबाट ५ शय ९० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरी निरीक्षक जोशीले बताए ।
धनगढी उपमहानगरपालिका वडा नं.२ मिलन चोकस्थित जयराम होटल एण्ड लज रेष्टुरेन्टका सञ्चालक ३२ वर्षीय राम बोहरा समेत पक्राउ परेका छन् । उनको होटलबाट ५ किलो ६ शय ९० ग्राम चरेस बरामद गरिएको हो ।
धनगढी उपमहानगरपालिका वडा नं. १२ जुगेडाबाट २३ वर्षीय विजय बि.क. र वडा नं. ७ का २२ वर्षीय प्रदीप राना पक्राउ परेका छन् । उनीहरुको साथबाट ७ शय ४० मिलिग्राम खैरो हेरोइन बरामद भएको जोशीले जानकारी दिए ।