
टीकापुर, भदौ १५
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले उद्योग, व्यवसायीको अनुगमन सरकारले एकद्धार प्रणालीबाट गर्नुपर्ने बताएका छन् ।
टीकापुर उद्योग वाणिज्य संघको २६औं वार्षिक साधारणसभालाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै उपाध्यक्ष वैद्यले अनेक निकायबाट हुने अनुगमनले व्यवसायी आतंकित हुनुपर्ने अवस्थाको अन्त्य गर्न एकद्धार प्रणाली गर्नुपर्ने बताएका हुन्
‘एउटा उद्योगी, व्यवसायीलाई सरकारको १७ वटा निकायले अनुगमन गर्ने गरेका छन्, व्यावसायीले व्यवसाय गर्ने कि अनुगमनको जवाफ दिने ?’ उपाध्यक्ष वैद्यले भने ‘त्यसकारण महासंघले एकद्धार प्रणालीबाट अनुगमन गर्ने व्यवस्थाका लागि सरकारसँग पहल गरिरहेको छ ।’
कोरोना संक्रमण, आर्थिक मन्दी र यसअघिका सरकारले लिएको गलत आर्थिक नीतिका कारण व्यवसायीहरु धरासयी हुन गएको बताउँदै उपाध्यक्ष वैद्यले राष्ट्र बैंकले जारी गरेको आर्थिक नीतिले थोरै राहत भएको बताए ।
‘शेयर बजारमा लगाइएको क्याप हटेको छ, बैंकको ब्याज घटेको छ’ उनले भने ‘सरकारले घरजग्गा कारोबार अझै फुकुवा गर्न सकेको छैन, सरकारको पुँजीगत खर्च बढाउन सकेको छैन, जसले गर्दा अझै पनि आर्थिक गतिविधि चलायमान हुन सकेका छैनन् ।’
उनले कुनै पनि क्षेत्रको आर्थिक समृद्धिका लागि स्थानीय सरकार, जनप्रतिनिधिहरु जिम्मेवार बन्नुपर्ने जिकिर गरे ।
कार्यक्रममा टीकापुर नगरपालिकाका पूर्व नगर प्रमुख तपेन्द्र रावल, पूर्व उपप्रमुख केशरी विष्ट, जानकी गाउँपालिका पूर्व अध्यक्ष प्रदीप चौधरी, महासंघका केन्द्रिय सदस्य कृष्ण शर्मा, निर्वाचन अधिृकत रघुनाथ उपाध्याय लगायतले शुभकामना दिएका थिए ।
त्यस्तै संघका संस्थापक अध्यक्ष गोकर्णप्रसाद रिमाल, नेपाली काँग्रेसका नगर सभापति नरेशकुमार खत्री, नेकपा एमालेका नगर अध्यक्ष लक्ष्मण थापा, नेकपा माओवादीका नगर अध्यक्ष धनसिंह साउँद, नेकपा समाजवादीका नगर अध्यक्ष महेश बुढा, नागरिक उन्मुक्ति पार्टीका नगर अध्यक्ष गोपाल थापा, नेपाल समाजवादी पार्टीका वीरेन्द्र साउँद, संघका पूर्व अध्यक्ष राजकुमार हमाल, वस्तुगत संघका तर्फबाट द्धारिका तिमिल्सेना लगायतले बोलेका थिए ।
संघका कार्यवाहक अध्यक्ष सन्तोष खड्काको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्णप्रसाद बजगाईंले गरेका थिए भने सञ्चालन महासचिव नवराज रिमालले गरेका थिए ।
खड्ग स्मृति सम्मान अग्रवाललाई
टीकापुर उद्योग वाणिज्य संघले हरेक वर्ष प्रदान गर्दै आएको खड्ग स्मृति सम्मान सत्तीका पूराना व्यापारी भागिरथ मल अग्रवाललाई प्रदान गरिएको छ । संघको २६औं वार्षिक साधारण सभाका प्रमुख अतिथि सुरकृष्ण वैद्यले अग्रवाललाई उक्त सम्मान प्रदान गरेका हुन् ।
संघको साधारण सभामा अन्तरिक्ष विज्ञान सम्बन्धी अध्ययन, अनुसन्धान गरिरहेका युवा वैज्ञानिक अरुण लोहारलाई प्रशंसा पत्र प्रदान गरिएको छ । लोहारले अन्तरिक्ष विज्ञान सम्बन्धी ७० हजार भन्दा बढी विद्यार्थीलाई सचेतना कक्षा सञ्चालन गर्दै आएका छन् । उनी हालै अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाको नासा स्पेश एप च्यालेञ्जमा नेभिगेटरको रुपमा छनौट भएका थिए ।
यस्तै संघले विभिन्न विद्यालयका चारजना छात्रछात्रालाई जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।
संघको बन्द सत्र भने गणपूरक संख्या नपुगेका कारण सञ्चालन हुन सकेन । कार्यवाहक अध्यक्ष सन्तोष खड्काले दिएको जानकारी अनुसार बन्द सत्र भदौ १७ गते विहान ११ बजे संघको कार्यालयमा हुनेछ ।
आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरिने साधारण सभामा १ हजार ३ शय ५४ सदस्यहरु रहेका छन् ।