
टीकापुर, भदौ १६
टीकापुर उद्योग वाणिज्य संघको २६औं साधारण सभामा अध्यक्ष पदका उम्मेदवार कृष्णप्रसाद उपाध्याय बजगाईं नेतृत्वको प्यानलले आज उम्मेदवारी घोषणा गरेको छ ।
संघका वाणिज्य उपाध्यक्ष रहेका बजगाईं नेतृत्वको प्यानलले पत्रकार सम्मेलन गरी आफन्ो प्यानलको उम्मेदवारी घोषणा गरेको हो । बजगाई नेतृत्वको प्यानलबाट दीपेन्द्रबहादुर रावल ‘सरकार’ उद्योग उपाध्यक्ष र अर्जुन भट्टराई वाणिज्य उपाध्यक्ष पदमा चुनावी मैदानमा उत्रिएका छन्
महासचिव पदका लागि प्रकाश उपाध्याय तिमिल्सेना, सचिवमा प्रकाश शाह र कोषाध्यक्षमा टीका शाही टियालाई प्यानलले चुनावी मैदानमा उतारेको छ ।
बजगाईं नेतृत्वको प्यानलबाट आठ जना खुल्ला सदस्यहरुका लागि सर्पराज साउँद, दीपक साउँद (सेतो बाघ), जनक रावल, प्रकाशबहादुर विश्वकर्मा, आशिष जैशी, जनकबहादुर रावत, निर्मला विष्ट, हरि कुश्मी प्रतिस्पर्धामा छन् ।
आरक्षण सदस्यतर्फ प्यानलबाट महिला सदस्यमा ईशारा कुमारी साउँद, दलित सदस्यमा रमेश तिखातरी र जनजाति सदस्यमा दानबहादुर चौधरी चुनाबी मैदानमा उत्रिएका छन् ।
अध्यक्ष पदका उम्मेदवार बजगाईंले सबै खालका भावनालाई समेट्न सक्ने, व्यावसायिक चेतनासहित व्यापारीको नेतृत्व गर्न सक्ने, लगानी बढाउने र व्यापार प्रवद्र्धन गर्ने खालका क्रियाकलाप गर्न आफ्नो नेतृत्वमा चुनाबी मैदानमा उत्रिएको बताए ।
‘सबै व्यापारीका लागि आकस्मिक बिमाको व्यवस्था, कर, लेखा प्रणाली, दर्ता र नवीकरण गर्न संघभित्रै छुट्टै शाखा स्थापना, लगानीको वातावरण, साना र मझौला उद्योगका लागि औद्योगिक क्षेत्र स्थापना हाम्रा मुख्य एजेण्डा हुन्’ बजगाईंले भने ‘संघलाई टीकापुर क्षेत्रको विकासको निम्ति सहयोगी संस्थाका रुपमा स्थापित गरिनेछ ।’
संघको नेतृत्वका लागि यसअघि संघका प्रथम उपाध्यक्ष सन्तोष खड्का नेतृत्वको प्यानलले समेत उम्मेदवारी घोषणा गरिसकेको छ ।