Hamro Patra
वाणिज्य संघको ११ औं अध्यक्षमा खड्काः पहिलो पटक पदाधिकारीमा महिला निर्वाचित

टीकापुर, भदौ २२
टीकापुर उद्योग वाणिज्य संघको इतिहासमा पहिलो पटक महिला पदाधिकारी निर्वाचित भएकी छन् । आज सम्पन्न टीकापुर उद्योग वाणिज्य संघको निर्वाचनबाट कोषाध्यक्षमा टीका शाही (टिया) ले ५ शय ६७ मत प्राप्त गरी इतिहास रचेकी हुन् ।

संघको इतिहासमा पदाधिकारीमा उम्मेदवारी दिएर निर्वाचित हुने उनी पहिलो महिला उम्मेदवार हुन् । उनले निकटतम् प्रतिस्पर्धी टेकबहादुर सोडारी भन्दा ३२ मत बढी प्राप्त गरिन् । सोडारीले ५ शय ३५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । 

संघको ११औं अध्यक्षका रुपमा संघका कार्यवाहक अध्यक्ष सन्तोष खड्का १ शय १३ मत अन्तरले अध्यक्षमा निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनको मत परिणाम अनुसार अध्यक्षमा सन्तोष खड्का ६ शय २७ मतसहित विजयी भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी संघका वाणिज्य उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय बजगाईंले ५ शय १४ मत प्राप्त गरेर पराजित भएका छन् । 

खड्का र बजगाईं प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए । खड्का आफ्‌नो प्यानलबाट निर्वाचित हुने एक मात्र पदाधिकारी हुन् भने संघको उपाध्यक्ष उद्योग, उपाध्यक्ष वाणिज्य, महासचिव, सचिव र कोषाध्यक्षमा बजगाई प्यानलका उम्मेदवारहरु निर्वाचित भएका छन् । 

उद्योग उपाध्यक्षमा दिपेन्द्र रावल ५ शय ४० मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी तपेन्द्र कुँवरले ५ शय २३ मत प्राप्त गरेका छन् । त्यस्तै वाणिज्य उपाध्यक्षमा अर्जुनप्रसाद भट्टराई ५ शय ४५ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी लोकेश साउँदले ९ मतले पराजित हुन पुगे । साउँदले ५ शय ३६ मत प्राप्त गरेका थिए । 

संघको महासचिवमा प्रकाश उपाध्याय तिमिल्सेना ५ शय ६१ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी पृथ्वीराज ढुंगानाले ५ शय ६१ मत प्राप्त गरे । सचिवमा प्रकाश शाह ५ शय ५४ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी हिक्मत रावलले ५ शय १५ मत प्राप्त गरेका छन् । 

आठ जना खुल्ला सदस्यका लागि भएको निर्वाचनमा भने खड्का प्यानलका अधिकांश उम्मेदवार बिजयी भएका छन् । खुल्ला सदस्यमा उपेन्द्र बटाला ६ शय ७१, हेमन्त रिमाल ६ शय ६८, शैलेश साउँद ५ शय ६८, रुपकबहादुर विष्ट ५ शय १४ मतसहित निर्वाचित भएका छन् । 

त्यस्तै खुल्ला सदस्यमा जनकबहादुर विष्ट ४ शय ९१, विजय धामी ४ शय ८५, दिपक साउँद ४ शय ८४ र सर्पराज साउँद ४ शय ७४ मत प्राप्त गरी विजयी भएका छन् । 

विजयी सदस्यहरुमा दिपक र सर्पराज बजगाईं प्यानलका हुन भने अन्य सदस्य खड्का प्यालनबाट निर्वाचित भएका हुन् । आरक्षण सदस्यतर्फका तीन जनामा दुई जना खड्का प्यालनबाट निर्वाचित भएका छन् भने एकजना बजगाईं प्यानलबाट निर्वाचित भएका छन् । 

महिला सदस्यमा जानकी शाह ६ शय ९५ मत, जनजाति सदस्यमा सन्तोष कठरिया ५ शय ७२ मत र दलित सदस्यमा रमेश तिखातरी दमाई ५ शय ४३ मतसहित निर्वाचित भए । तिखातरी बजगाईं प्यानलबाट निर्वाचित भएका हुन् भने शाह र कठरिया खड्का प्यानलबाट निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update