Hamro Patra
कैलालीका १ शय ३७ भवनमा क्षति

धनगढी, भदौ ३०
जेनजी आन्दोलनको क्रममा कैलालीमा एक सय ३७ भवनमा क्षति भएको छ । आन्दोलनकारीले आगजानी तथा तोडफोड गर्दा विभिन्न सरकारी कार्यालय, निजी भवन र पार्टी कार्यालयमा क्षति भएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार तीन वटा पूर्ण र दुई आंशिक सहित पाँच वटा प्रहरी भवनमा क्षति भएको छ। यस्तै, आठ आंशिक र चार सामान्य गरी १२ वटा सर्वसाधारणका निजी घरमा क्षति भएको छ । 

दुई पूर्ण ७० आंशिक र ३१ सामान्य गरी १०३ वटा सरकारी कार्यालयमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।  त्यस्तै, ११ आंशिक र छ सामान्य गरी १७ वटा पार्टी कार्यालयमा क्षति भएको जनाइएको छ । कुल पाँच वटा कार्यालयमा पूर्णसहित १ शय ३७ भवनमा क्षति भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए । 

आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, कर कार्यालय, मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय, भन्सार कार्यालय लगायतका सरकारी कार्यालयहरुमा आगजनी गरेका थिए । 

यसैगरी, प्रदेश सभा भवन, प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लगायतमा आगजनी गरिएको थियो । 

यस्तै, आन्दोलनकारीले ६ शय ७८ वटा सवारी साधन जलाएका छन् । जसमा चार पाङ्ग्रे १ शय १४, मोटरसाइकल ५ शय ४३, साइकल १५ र तीन पाङ्ग्रे छ वटा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

गोरखापत्रबाट

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update