
नेपालगञ्ज, असोज १
भदौ २४ गते भएको जेनजी आन्दोलनको बेला नेपालगञ्जका सरकारी कार्यालयहरुमा आगजनी, तोडफोड र लुटपाट गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गर्न थालेको छ ।
सो क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेले आगजनी, तोडफोड र लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ भने अन्यको पहिचान र खोजी गर्ने कार्य भइरहेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले नेपालगञ्ज जयसपुरका शालिकराम पाठक र दीपक टमाटा आगजनी, तोडफोड र लुटपाटमा संलग्न रहेको पाइएपछि दुबै जनालाई पक्राउ गरिएको बताए ।
पातलीले उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको तथा अन्यको पहिचान र खोजी गर्ने कार्य भइरहेको जनाउँदै सबैलाई पक्राउ गरिने बताए ।
पक्राउ परेका पाठक र टमाटाले नेपालगगञ्ज उपमहानगरपालिका, आन्तरिक राजश्व कार्यालय लगायतविभिन्न सरकारी कार्यालय र सवारी साधनमा आगजनी, तोडफोड तथा लुटपाट गरेको आरोप छ ।
जेनजी आन्दोलनको क्रममा भदौ २४ गते नेपालगञ्ज र कोहलपुरमा ५० भन्दा बढी सरकारी तथा व्यक्तिगत संरचनामा आगजनी, तोडफोड र लुटपाट गरिएको थियो ।