टीकापुर, असोज २
निर्वाध रुपमा भारतीय केरा नेपाली बजारमा आउन थालेपछि नेपाली किसानले उत्पादन गरेको अर्बौं रुपैयाँको केरा बारीमै सड्न थालेको छ ।नेपालसँग सीमा जोडिएका विभिन्न भन्सारहरुबाट प्लान्ट क्वारेन्टाइनमा चेकजाँच बिना नै भारतीय केरा नेपाली बजारमा भित्रिएपछि अर्बौं रुपैयाँको नेपाली केरा किसानको बारीमै सड्न थालेको हो ।
साउनदेखि मंसिर महिनासम्मको समयमा नेपाली किसानले उत्पादन गरेको केरा बजारमा आउने गर्दछ । नेपाल सरकारले भारतीय केरामा लगाउँदै आएको कर घटाउनु, प्लान्ट क्वारेन्टाइनमा चेकजाँच बिना नै केरा आयात हुनुले नेपाली केरा बारीमै सड्ने अवस्था आएको केरा उत्पादक किसानहरु बताउँछन् ।
‘सरकारले नेपाली केरा किसानलाई प्रोत्साहन गर्नुको साटो भारतबाट आउने केरामा कर कम लगाउनु, प्लान्ट क्वारेन्टाइनमा हुने चेकजाँचमा कडाई नगर्नुले हामी किसानले उत्पादन गरेको अर्बौं रुपैयाँको केरा बारीमै सड्न थालेको छ’ केरा उत्पादक तथा व्यवसायी संघ कैलालीका अध्यक्ष दीपेन्द्र थारुले भने ‘भारतबाट आयात गरिने केरा मंसिर महिनासम्म पूर्णरूपले बन्द गर्न, प्लान्ट क्वारेन्टाइनको कानुनी, प्राविधिक र प्रशासनिक प्रक्रियामा कडाई गर्न र नेपाली केरालाई पहिलो प्राथमिकता दिन माग गर्दै आएका छौं, तर सुनुवाई भएको छैन ।’
अध्यक्ष थारुले कैलाली र कञ्चनपुरका भन्सारबाट आयात भइरहेको भारतीय केरा रोक्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहसमक्ष ज्ञापन पत्र बुझाएको बताए । ‘नेपाली केरा उत्पादक किसानको रक्षा गर्नु सरकारको दायित्व हो, हामीले प्रदेशका मुख्यमन्त्रीदेखि संघीय मन्त्रालयमा ज्ञापन पत्र बुझाएका थियौं’ अध्यक्ष चौधरीले भने ‘जेनजी को आन्दोलनले प्रभावित हुँदा थप अन्यौलता बढेको छ, सरकारले तत्काल भारतीय केरा नरोके हामी चरणबद्ध आन्दोलनका कार्यक्रम गर्न बाध्य हुनेछौं ।’
टीकापुर नगरपालिका वडा नं. २ का किसान कमल रावतले ७ बिघामा क्षेत्रफलमा लगाइएको केरा बारीमै सड्ने अवस्थामा रहेको बताए । ‘बजारमा छ्यापछ्याप्ती भारतीय केरा छ, भन्सारमा शुल्क कम लागेपछि भारतीय केरा सस्तोमै आइरहेको छ, यही मूल्यमा हामीले केरा बिक्री गर्ने अवस्था छैन’ रावतले भने ‘दशदेखि १५ रुपैयाँ दर्जनमा केरा बिक्री गर्नु परिरहेको छ, यसले हाम्रो उत्पादन लागत समेत उठ्दैन, हामी सडकमा पुग्ने अवस्था छ ।’
टीकापुरमा उत्पादित केरा धनगढी, महेन्द्रनगर, नेपालगञ्ज, सुर्खेत, दाङ, बुटवल लगायतका शहरमा बिक्री हुने गरेकोमा भारतीय केराका कारण थोक बिक्रेताहरु खरिद गर्न नआउँदा केरा बारीमै सड्न थालेको रावतले बताए ।
टीकापुरका अर्का केरा किसान टेकेन्द्र धामी गत वर्ष ४० देखि ५० रुपैयाँ दर्जनमा बारीमै बिक्री हुँदै आएका केरा यसवर्ष मूल्य नपाउँदा बारीमै सड्ने अवस्था आएको बताउँछन् ।
‘विना चेकजाँच निर्वाध रुपमा भारतीय केराहरु आइरहेका छन्, प्रहरी प्रशासन र सरकारी संयन्त्रको लापरवाहीले गुणस्तरीय नेपाली केरा बारीमै सड्न थालेको हो’ किसान धामीले भने ‘देशभरिका केरा उत्पादक किसानहरु मारमा परेका छन्, हामीले प्रदेश र संघीय सरकारलाई ज्ञापन पत्र बुझाउँदा समेत माग सुनुवाई भएको छैन, असोज ६ गतेभित्र माग सुनुवाई नभए भारतीय केरा रोक्न किसानहरु आफै आन्दोलनमा उत्रिन बाध्य हुनेछौं ।’
भारतबाट आयात हुने केराका कारण नेपाली व्यवसायी मारमा परेका भन्दै नेपाली केरा व्यवसायी संघले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भदौ २२ गते नै ज्ञापनपत्र बुझाएको थियो ।
किसानले वर्षभरि गरेको लगानी, मेहनतले उत्पादित गुणस्तरीय केरा भारतबाट आयत हुने सस्तो मूल्यका केराका कारण उचित मूल्य र बजार नपाएको भन्दै देशभरका केरा व्यवसायीहरु आन्दोलनको तयारीमा छन् ।
नेपाल केरा उत्पादक महासंघ तदर्थ समिति काठमाडौंले समेत विज्ञप्ति जारी गर्दै नेपाली केराको बजार सुनिश्चित गर्न माग गरेको छ । कैलाली, कञ्चनपुर, बर्दिया, नवलपरासी र चितवन लगायतका केरा उत्पादक किसानहरुद्धारा जारी विज्ञप्तिमा नेपाली उत्पादन पर्याप्त हुँदा समेत विदेशी केरा निर्वाध रुपमा भित्रिएकाले ब्यापार घाटा बढ्नुका साथै नेपाली केरा उत्पादक किसान पेशाबाटै विस्थापित हुनुपर्ने अवस्था आएको उल्लेख छ ।
यहाँ उत्पादित गुणस्तरीय केराले उचित मूल्य र बजार नपाएपछि किसान निराश हुनुको साथै आर्थिक क्षतिसमेत भएको किसानहरुको भनाई छ ।
कति छ नेपालमा केरा उत्पादन ?
हाल नेपालका ७७ जिल्लामध्ये ६९ जिल्लामा केरा खेती हुने गरेको छ । कृषि तथा पशुपन्छी मन्त्रालयले आर्थिक वर्ष २०८०/०८१ मा प्रकाशित गरेको तथ्यांक अनुसार नेपालमा २३ हजार ४०४ हेक्टर जमिनमा प्रतिवर्ष ३ लाख ८३ हजार २८५ मेट्रिक टन केरा उत्पादन हुने गरेको छ ।
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कुल अफ एग्रिकल्चर टीकापुरका कृषि अर्थशास्त्रका उपप्राध्यापक सन्तोष उपाध्याय नेपालमा वर्षेनी १५ अर्ब रुपैयाँ बराबरको केरा उत्पादन हुने गरेको बताउँछन् । ‘नेपालमा वर्षेनी १५ अर्ब रुपैयाँ बराबरको केरा उत्पादन हुने गरेको छ’ उपप्रध्यापक उपाध्यायले भने ‘कैलालीमा मात्रै २ अर्ब बढीको केरा उत्पादन हुने गरेको छ ।’
केरा उत्पादनको मुख्य सिजन मानिने साउनदेखि मंसिरसम्म नेपाली केराले बजार नपाए ठूलो रकम भारत जाने उपाध्याय बताउँछन् ।
विश्वमै केरा बजारमा २६ प्रतिशत हिस्सा भारतीय केरा
विश्वमा सबैभन्दा बढी भारतमा केरा खेती हुन्छ । सन् २०१९ मा प्रकाशित एक तथ्यांकअनुसार भारतमा ८६६ हजार हेक्टर क्षेत्रफलमा केराखेती हुने गरेको छ ।
३० हजार ४६० हजार मेट्रिक टन केरा उत्पादन गरी विश्वको कुल उत्पादनमा २६ प्रतिशत हिस्सा आगटेको भारतीय केरा नेपाली बजारमा सस्तो मूल्यमा आउँदा यहाँका किसान मारमा परेका हुन् ।
भारतपछि चीनमा ३४४ हजार हेक्टर, ब्राजिलमा ४६१.७ हजार हेक्टर र इन्डोनेसियामा १३२.२ हजार हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ । केरा उत्पादनमा ११ औं स्थानमा रहेको नेपालमा २३ हजार हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ ।




