टीकापुर, असोज २
दशैं तिहार जस्ता महत्वपूर्ण चाडपर्व नजिकिँदै गर्दा इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले बुधवार प्रकाशित गरेको सरुवा सूचिअनुसार इलाका प्रहरी कार्यालय टीकापुरमा एक वर्षदेखि कार्यरत डिएसपी नवीनराजा बुढाथोकीको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, टंगालमा सरुवा भएको छ ।
बुढाथोकीको स्थानमा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत डिएसपी प्रकाश डाँगी टीकापुर आउने भएका हुन् । यसअघि प्रहरी निरीक्षक रहँदा टीकापुरमा बसेका डाँगी इलाका प्रहरी कार्यालय प्रमुखको रुपमा आउन लागेका हुन् ।
प्रहरी प्रधान कार्यालयले सुदूरपश्चिमका विभिन्न कार्यालयमा कार्यरत र दरबन्दी रहेका एसपी र डीएसपीहरु पनि सरुवा तथा काजमा परेका छन् ।
जसअनुसार बागमती प्रदेश प्रहरी कार्यालय, गम्भीर अपराध अनुसन्धान शाखामा कार्यरत डीएसपी गौरव महतलाई दार्चुला पठाइएको छ । दार्चुलाबाट डीएसपी प्रकाश दाहाललाई भने जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको छ ।
महेन्द्रनगरस्थित प्रदेश प्रहरी कार्यालय, मानवस्रोत व्यवस्थापन शाखामा कार्यरत डीएसपी देबेन्द्र कुमार मल्ललाई जिल्ला प्रहरी कार्यालय बर्दिया सरुवा गरिएको छ भने उनको स्थानमा मिलन बस्नेत पठाइएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट डीएसपी बरुणबहादुर सिंहलाई डडेल्धुरा पठाइएको छ भने डडेल्धुराका सुगन्ध श्रेष्ठलाई कर्णाली प्रदेश प्रहरी कार्यालय, अन्वेषण योजना शाखामा सरुवा गरिएको छ ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय पर्साबाट एसपी गौतम मिश्रलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, आर्थिक प्रशासन तथा प्रबन्ध शाखा धनगढी पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत एसपी बिनोद शर्मालाई महेन्द्रनगरस्थित प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान शाखामा पठाइएको छ । जिल्ला प्रहरी कार्यालय डोटीमा भने कर्णाली प्रदेश प्रहरी कार्यालयबाट महेन्द्र नेपाल पठाइएका छन् ।
यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, मानवस्रोत व्यवस्थापन शाखा धनगढीमा कार्यरत भुवनेश्वर प्रसाद साहलाई नेपाल प्रहरी विशेष सुरक्षा गण, जनकपुर धनुषा पठाइएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, आर्थिक प्रशासन तथा प्रबन्ध शाखा धनगढीमा दरबन्दी रहेका मनोहरप्रसाद भट्टलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिएको छ । उनी यस अगाडि पनि काजमा काठमाडौंमै कार्यरत थिए ।
यस्तै एसपी हरिहरनाथ योगीलाई महेन्द्रनगरस्थित प्रदेश प्रहरी कार्यालयबाट प्रहरी प्रधान कार्यालय, जनसम्पर्क शाखा नक्सालमा काज सरुवा गरिएको छ । यस्तै यस अगाडि नै कैलालीमा नरेन्द्र चन्दलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट पठाइएको थियो भने कैलालीका तत्कालीन एसपी बाल नरसिंह राणा कारागार काण्डले तानिएका थिए ।




