
टीकापुर, असोज ८
काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा लुटपाट गरिएका दुई वटा पेस्तोल र २८ राउण्ड गोलीसहित चार जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले मंगलवार गौरीगंगा नगरपालिकाको चौमालाबाट उनीहरूलाई हतियारसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका वडा नं. १ का १९ वर्षीय समीर खड्का, १९ वर्षीय आभाष चन्द, वडा नं. ३ का २२ वर्षीय जिवेश सापकोटा र हिमाल आचार्य रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी रणबहादुर चन्दले उनीहरू चारै जनालाई पेस्तोल र गोलीसहित पक्राउ गरिएको जनाएका छन् । चन्दले उनीहरूको साथबाट टाइप–५४ र रिभल्भर गरेर दुई वटा पेस्तोल तथा २८ राउण्ड गोली बरामद गरिएको बताए ।
पक्राउ परेकाहरूले जेनजी आन्दोलनका क्रममा ती हतियार ट्राफिक महाशाखा बग्गीखानाबाट लुटेको बयान दिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई अपराध महाशाखा काठमाडौं पठाउने तयारी भइरहेको छ ।