
टीकापुर, असोज ९
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ चुनेपानीमा एक जना साधुको हत्या गरिएको छ । चुनेपानीमा रहेको लक्ष्मीनारायण मन्दिरको बगैँचामा रहेको कुटीमा बस्दै आएका साधु अर्थात् भगत रामनारायण डगौराको हत्या भएको हो ।
बुधवार अन्दाजी साढे बाह्र बजे राति साधु डगौराको हत्या भएको प्रहरीले जनाएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी ठेगाना भएका ७८ वर्षीय साधु डगौराको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरिएको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
मृतक डगौराको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या भएको विवरणसहितको जाहेरी प्रहरीमा दर्ता भएको छ । लक्ष्मीनारायण मन्दिरका तर्फबाट जाहेरी दर्ता भएको हो ।
मृतक डगौरा १६ वर्षदेखि चुनेपानीस्थित लक्ष्मीनाराण मन्दिरको बगैँचा रहेको स्थानमा कुटी बनाएर बस्दै आएका थिए । मलाखेती प्रहरीले साधु मृत्यु प्रकरणमा शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको छ ।