
टीकापुर, असोज १२
चाडपर्वको बेला कैलालीमा भारतीय सीमा नाकामा हुने भिडभाडको सुरक्षाका लागि प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । कैलाली प्रहरीले भारतसँग सीमा जोडिएका र मानिसहरूको भिडभाड बढी हुने सार्वजनिक स्थानमा चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार चेकजाँच बढाएको छ ।
प्रहरीले ती क्षेत्रमा अन्य बेलाभन्दा सुरक्षाकर्मीको समेत बढाएको छ भने चेकजाँचमा तालिम प्राप्त कुकुरको प्रयोग समेत गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले सीमा क्षेत्रमा हुनसक्ने विस्फोटक पदार्थ र लागुऔषधको ओसारपसारलाई ध्यानमा राखेर जाँचमा कडाइ गरिएको बताए ।
उनले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको कुकुर शाखासँगको समन्वयमा सीमा नाकासहित बढी भिडभाड हुने बसपार्क लगायतका क्षेत्रमा चेकजाँचमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिरहेको बताए ।
कैलालीमा चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत जिल्लाभर एक हजार एक शय बढी प्रहरी परिचालन गरिएको छ । सीमा नाका, बसपार्कलगायतका क्षेत्रमा यात्रुलाई मध्यनजर गर्दै नागरिक सहायता कक्षसमेत स्थापना गरिएको छ ।
सुदूरपश्चिममा रोजगारीको सिलसिलामा भारत गएकाहरू दशैं मनाउन घर फर्किने भएकाले सीमा नाकाहरूमा चहलपहल बढेको छ ।