
टीकापुर, असोज २१
कैलालीको टीकापुरस्थित अग्रणी शैक्षिक संस्था वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक फणिन्द्रराज रेग्मीको ५८ वर्षको उमेरमा निधन भएको छ ।
पारिवारिक श्रोतका अनुसार केही महिनादेखि विभिन्न स्वास्थ्य समस्या झेलिरहेका रेग्मीको हृदयघातका कारण आज विहान टीकापुर अस्पतालमा निधन भएको हो ।
टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. १६ मा बसोबास गर्दै आएका रेग्मी टीकापुर प्राज्ञिक समाजका संस्थापक अध्यक्ष हुन् । रेग्मी अछामको बान्नीगढी जयगढ गाउँपालिकाको काफलखेतमा वि.सं. २०२४ मंसिर २४ गते जन्मिएका थिए ।
राजनीतिक शास्त्रमा स्नातकोत्तर र बीएसम्मको अध्ययन गरेका रेग्मी २०५७ सालदेखि वीरेन्द्र विद्या मन्दिरमा अध्यापनरत रहेका थिए । रेग्मीले विद्यालयको प्रधानाध्यापकबाट एक महिना अघि भदौ २२ गतेदेखि लागु हुने गरी राजिनामा दिएका थिए । रेग्मीका चार छोरी र एक छोरा छन् ।
भद्र, सालिन र सहनशील व्यक्तित्वका धनी रेग्मी समाजशास्त्र, साहित्य र इतिहासमा समेत दख्खल राख्दै आएका थिए । टीकापुरको प्राज्ञिक उन्नयनमा योगदान पुर्याउँदै आएका रेग्मीप्रति हाम्रो पत्र हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।