
टीकापुर, असोज २२
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पूर्व मन्त्री रञ्जिता श्रेष्ठसहित सात जना विरुद्ध पोखराको लिची बगानको जग्गा घोटाला प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा नाउपा अध्यक्ष एवं पूर्वमन्त्रीद्वय रञ्जिता श्रेष्ठ र राजकुमार गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
कैलाली क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित श्रेष्ठ रेशमलाल चौधरीकी श्रीमती हुन् भने गुप्ता एमालेका नेता हुन् । लिचीबारी जग्गा प्रकरण मुद्दामा ७८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।
गुप्ताले बिचौलियाहरूसँग घुस डिल गरेको श्रव्य सामग्री सार्वजनिक भएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । उक्त श्रव्य सामग्रीमा एमालेकै अर्का पूर्वमन्त्री बलराम अधिकारीको नामसमेत लिइएको छ ।
अधिकारीको संलग्नता अहिले स्पष्ट नभइसकेकाले अनुसन्धान जारी रहेको र त्यो सकिएपछि पूरक अभियोग लैजान सकिने अख्तियार स्रोतले बताएको छ ।
गुप्ता केपी शर्मा ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री थिए भने श्रेष्ठ पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा भूमि व्यवस्थामन्त्री थिइन् ।