
टीकापुर, असोज २३
जेनजी आन्दोलनका क्रममा कैलाली कारागारबाट भदौ २४ गते बाहिर आएका ३ शय ८ जना कैदीबन्दी अझै फरार रहेका छन् । आन्दोलनका क्रममा देशभरका अधिकांश कारागारबाट निस्किएका कैदीबन्दीहरु कारागार फर्किरहे पनि कैलालीमा भने अझै उक्त संख्यामा कैदीबन्दी फरार रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीले दिएको जानकारी अनुसार कैलालीमा ३ शय ६४ जना कैदीबन्दी कैलाली कारागारमा फर्किएका छन् । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै असोज २० गतेभित्र जेनजी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दीलाई सम्पर्कमा समय दिएको थियो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले २० गतेसम्म सम्पर्कमा नआएका कैदीबन्दीहरुलाई थप कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताए । जोशीका अनुसार कारागार ऐन २०७९ र प्रचलित कानुन बमोजिम फरार रहेका कैदीबन्दीलाई थप कारबाही हुनेछ ।
फरार कैदीबन्दीलाई लुकाउने र आश्रय दिनेलाई पनि कारबाहीको दायरामा ल्याइने जोशीले बताए । कैलालीमा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा फरार बन्दी खोजी तथा पक्राउ कार्यदल यसअघि नै गठन भइसकेको थियो । उक्त कार्यदलले फरार बन्दी खोजी कार्य तिब्र पारेको जनाइएको छ ।
देशभरका कारागारबाट ठूलै संख्यामा कैदीबन्दी फरार रहँदा स्थानीयबासी भने त्रसित बनेका छन् । केही कैदीबन्दीहरु अपराधका घटनामा संलग्न भएको समाचार आइरहँदा स्थानीयमा त्रास बढेको हो ।