Hamro Patra
छिनाएको टाउको बोकेर दुई युवक जब प्रहरी चौकी पुगे...

टीकापुर, असोज २५

कैलालीको मध्यवर्ती घोडाघोडीमा मध्यरात दुई युवक एक युवकको टाउको हातमा लिएर प्रहरी कार्यालय   पुगे ।

शरीरबाट छिनाएको टाउको बोकेर दुई युवक प्रहरी कार्यालय पुग्दा प्रहरी नै अक्क न बक्क भए, नहुन पनि किन, १८/१९ वर्षका दुई युवक हामीले हत्या गर्यौ भन्दै प्रहरी चौकी पुगेका थिए । 

Shuvakamana C
Shuvakamana B

घटना हो, कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ८ जरैको । गए राति दुई समूह रक्सी पाटीमा मस्त थिए, सामान्य विवाद चर्किएपछि पाटीमा सहभागी दुई युवकले अर्का युवकको घाँटी रेटी हत्या गरे । 

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी रमेशदत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो ।

घटना गए राति करिब ११ बजेतिर भएको प्रहरीले जनाएको छ। डीएसपी अवस्थीले भने, 'राति ११ बजेतिर हाम्रो कार्यालयमा ‘एकजनालाई मारियो’ भनेर जानकारी आयो, म स्वयं घटनास्थल पुगेँ ।'

हत्या आरोपमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ।

विवादपछि दुबै जनाले बुढाको घाँटी छेकी टाउको छुट्याई टाउको बोकेर आफै प्रतिखेत प्रहरी पोस्टमा पुगेका थिए।

प्रहरीका अनुसार मृतक बुढाको टाउको इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ भने शरीर घटनास्थलमै रहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अवस्थीले बताएका छन् । 

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update