
टीकापुर, असोज २५
रगत अभावलाई मध्यनजर गर्दै टीकापुर उद्योग वाणिज्य संघले आज बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ पिन्ट रगत संकलन भएको छ ।
सो कार्यक्रममा संघको नवनिर्वाचित कार्य समितिका पदाधिकारी, सदस्य लगायत अन्य व्यक्तिले समेत रक्तदान गरेका छन ।
नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखासँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको संघका महासचिव प्रकाश तिमिल्सेनाले जानकार दिएका छन ।
रगत अभावका कारण विगत केही दिन यता टीकापुर अस्पतालमा उपचाररत बिरामीहरुले समस्या भोग्दै आएका छन ।
नियमित रक्तदाताले मात्रै रगत अभावलाई धान्न नसकेका कारण रक्तदान कार्यक्रम गरेरै रगत संकलन गर्नुपरेको छ ।
केही समय यता टीकापुर अस्पतालमा बिरामीको चाप बढेसँगै रगत अभाव समेत बढ्दै गएको छ । यतिबेला अस्पतालमा सिकसेलका बिरामी र सुत्केरी सेवा लिनेको संख्या बढेको छ ।
टीकापुर क्षेत्रमा संकलन भैरहेको रगतले अन्य बिरामीलाई समेत धान्न समस्या भैरहेको रेडक्रस टीकापुरले जानकारी दिएको छ ।
रेडक्रसले विभिन्न संघसंस्थाहरुलाई रक्तदान कार्यक्रम को आयोजना गरी आम सर्वसाधारणलाई रक्तदानमा अभियानमा जोड्न आग्रह गर्दै आएको छ ।