Hamro Patra
कैलालीमा रमाउँदै कर्‍याङकुरुङ

अविनाश चौधरी
धनगढी, असोज २६

उत्तरी ध्रुवबाट दक्षिण झरेका प्रवासी चरा कर्‍याङकुरुङ सारस (डेमोइसेल्ला क्रेन) कैलालीमा रमाउन थालेका छन् । हजारौं किलोमिटर उडान भरेर थकित यो चरा आहारविहार र विश्रामका लागि कैलाली टेकेका हुन ।

विगत वर्षझै यो वर्ष पनि कर्‍याङकुरुङ यो बेला भारततर्फ बसाइँ सरिरहेका छन् । त्यसक्रममा कैलालीको कैैलारी गाउँपालिका वडा नं. ३ निमुवाबोझी र भजनी नगरपालिकाको खैलाड क्षेत्रमा आहारविहारका लागि बसेका छन् । 

Shuvakamana C
Shuvakamana B

निमुवाबोझीमा एक बथान कर्‍याङकुरुङ केही दिनदेखि बस्दै आएको वाइल्डलाइफ फोटोग्राफर कुलराज चौधरीले बताए । उनले थोरै संख्यामा रहेको कर्‍याङकुरुङको बथान मोहना नदीको बगर, स्थानीयको खेतमा आहारविहार गर्दै रमाइरहेको जानकारी दिए । 

यसैगरी, बथानबाट छुटेका ६ वटा कर्‍याङकुरुङ भजनीको खैलाडस्थित धान खेतमा बसेको जनाइएको छ । त्यसमध्ये चारवटा उडेका र उड्न नसकेका दुई वटालाई स्थानीयले पक्रेर सुरक्षित राखेको चराविद हिरुलाल डङ्गौराले जानकारी दिए । 

माथिल्लो मुस्ताङस्थित समर–धौलागिरी हिमालको पश्चिम र डोल्पा गरेर दुईवटा रुटबाट यो प्रजातिका चरा नेपालमा प्रवेश गर्ने गरेको जनाइएको छ । माथिल्लो मुस्ताङ हुँदै आएका कर्‍याङकुरुङ सारस भेरी नदी कोरिडोर र डोल्पा रुट हुँदैआएका कर्‍याङकुरुङ सारस कर्णाली कोरिडोर भएर भारततर्फ जाने गरेका छन् । 

असोज, कात्तिक दुई महिनासम्म बसाइँ सरेर यो चरा भारतको गुजरात र राजस्थानमा जाने गरेको जनाइएको छ । यहाँ बसेर रमाइरहेका कर्‍याङकुरुङको चोरी शिकार हुन नदिन वन कार्यालय अग्रसर हुनुपर्ने चराप्रेमीहरुको भनाइ छ । सवडिभिजन वन कार्यालय भजनीका वन अधिकृत लालबहादुर विकले कर्‍याङकुरुङको बारेमा जानकारी लिन कर्मचारी खटाइने बताए ।

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update