Hamro Patra
पूर्वराजदूत गोदारले भने ‘दुई वर्षको आशा आज अन्त्य भयो’

टीकापुर, असोज २८
कैलालीको टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकाय अन्तर्गत स्कुल अफ एग्रिकल्चरबाट अर्न एण्ड लर्न कार्यक्रमका लागि इजरायल गएर हमासको आक्रमणमा परी ज्यान गुमाएका विपिन जोशीलाई नेपालका लागि इजरायलका पूर्व राजदूत हनान गोदारले ऊर्जावान र क्षमतावान युवा भन्दै स्मरण गरेका छन् । 

सो कार्यक्रममा इजरायल जानुअघि दुई पटक टीकापुरमै पुगेका तत्कालीन राजदूत गोदारले नै जोशी लगायतका विद्यार्थीलाई इजरायलका लागि विदाई गरेका थिए । 

Shuvakamana C
Shuvakamana B

हमास विद्रोहीबाट मारिएका जोशीसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको विदाई भेटको तस्वीर सार्वजनिक गर्दै गोदारले विपिनलाई सधैं सम्झिरहने  बताएका छन् ।

हमासले विपिन जोशीको मृत्यु भइसकेको पुष्टि गर्दै इजरायललाई शव हस्तान्तरण गरेपछि पूर्व राजदूत गोदारले सामाजिक सन्जालमा फेसबुकमा लेखेका छन्, ‘दुई वर्षको आशा आज अन्त्य भयो ।’

इजरायल जानुअघि विपिनलाई भेट्ने अवसर प्राप्त भएको भन्दै गोदारले थप लेखेका छन्, ‘उनी ऊर्जावान र क्षमतावान युवा विद्यार्थी थिए जो आफ्नो परिवार, समुदाय र देशका लागि राम्रो गर्न चाहन्थे ।’ उनले विपिनको शान्तिको कामना गर्दै सधैं सम्झिरहने उल्लेख गरेका छन् ।

हमासले इजरायलको किवुत्ज शहरमा आक्रमण गर्दा १० नेपाली विद्यार्थीहरु मारिएका थिए भने विपिन जोशी वेपत्ता पारिएका थिए । उनको मृत्यु भएको भन्दै हमासले इजरायल मंगलबार शव हस्तान्तरण गरेको छ । अब डिएनए टेष्ट गरेर विपिनको शव पुष्टि भएपछि परिवारलाई हस्तान्तरण गरिने इजरायलस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update