
धनगढी, असोज २८
कैलालीमा युवकमाथि धारिलो हतियार प्रहार गरिएको घटनामा प्रहरीले ‘कोब्रा सरकार’का नाममा गुण्डागर्दी आएका ११ जनालाई पक्राउ गरेको छ ।
आइतबार राति गोदावरी नगरपालिका–४ को शुभम होटलमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ का ३२ वर्षीय गौरव ऐरमाथि धारिलो हतियार प्रहार भएको घटनामा ‘कोब्रा सरकार’ का नाममा गुण्डागर्दी गर्दै आएका धनगढी उपमहानगरपालिका वडा नं. २ का सन्नी भनिने २९ वर्षीय भीम नेपालीसहितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुुमार सिंहले नेपालीसहितका ११ जनालाई भारततर्फ भाग्दै गरेको अवस्थामा सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको बताए ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नं. २ का १८ वर्षीय अनुपम सिंह, १८ वर्षीय मुस्कान सिंह, २० वर्षीय बबिन सिंह, २६ वर्षीय गोपाल भट्ट, १८ वर्षीय प्रिन्स सिंह, धनगढी उपमहानगरपलिका वडा नं. ३ का १८ वर्षीय बिशाल बोहरा छन् ।
त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ९ का २३ वर्षीय किरण महरा, २६ वर्षीय गोविन्द बलायर, पुनर्वास नगरपालिका वडा नं. १० का ३२ वर्षीय दिनेश बि.क. र ३२ वर्षकै अनिल बि.क रहेको उनले बताए । घटनामा संलग्न रहेको अभियोगमा किटानी जाहेरी दिइएका चार जना भने फरार रहेका छन् ।
प्रहरीले उनीहरुको खोजी गरिरहेको छ । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका ऐरको भने भारतमा उपचार भइरहेको छ । डीएसपी सिंहका अनुसार उनको भारतको रुद्रपुरमा रहेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । आक्रमणबाट उनको हातको औँला काटिनुका साथै टाउको र घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ ।
ऐरमाथि धारिलो हतियार प्रहार गरेको आरोपमा पक्राउ परेकाहरु कोब्रा सरकारका नाममा समूह बनाएर कैलालीमा गुण्डागर्दीमा संलग्न रहदै आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका नेपाली कोब्रा सरकारकै समूहका युवाले गत वर्षको २२ फागुनमा नेपाल विद्युत प्राधिकरणका कर्मचारी सुन्दरलाल चौधरीलाई खुकुरी प्रहार गरेका थिए । खुुकुुरी प्रहारबाट चौधरी गम्भीर घाइते भएका थिए । कोब्रा सरकारका सन्नी भनिने भीम नेपाली समेतका युवाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी परेको थियो ।