टीकापुर, कात्तिक १५
सामुदायिक सेवा केन्द्र टीकापुरको पाँचौ चुनावी साधारण सभाको उद्घाटन समारोह आज सम्पन्न भएको छ । सेवा केन्द्रका अध्यक्ष हरिप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको उद्घाटन समारोहको प्रमुख अतिथि इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख कृष्ण थापा रहेका थिए ।
प्रमुख अतिथिका रुपमा रहेका थापाले उद्घाटन समारोहमा बोल्दै टीकापुरमा प्रहरी र नागरिकका बिचको सम्बन्ध राम्रो रहेको बताएका छन । उनले प्रहरी र नागरिक बिचको सम्बन्ध राम्रो बनाउन सेवा केन्द्रको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले पछिल्ला घटनाक्रमले सेवा केन्द्रको भूमिका अझ बढेको बताउँदै यसमा नागिरकको सहयोगको आवश्यक रहने बताए । उनले पछिल्लो पटक भएको जेनजी आन्दोलनमा टीकापुरमा रहेका सरकारी संरचनामा कुनै क्षति नपुग्नु यहाँका नागरिक जिम्मेवार छन भन्ने कुराको सन्देश गएको बताए ।
‘आज हामी दैनिक डेढ सय नागरिकता प्रदान गरिरहेका छौं’ उनले भने–‘यदि अन्यत्र जसो अवस्था भएको भए सेवा प्रवाह सहज हुने थिएन । यो सुखद पक्ष हो ।’
उद्घाटन समारोहमा विशिष्ट अतिथि रहेका टीकापुर नगरपालिकाका कार्यवाहक प्रमुख लालबिर चौधरी, इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रकाश डाँगी, सेवा केन्द्रका संस्थापक अध्यक्ष एवम् पूर्वसाँसद गंगाबहादुर कुँवर, निवर्तमान अध्यक्ष मोहन नाथले बोलेका थिए ।

त्यस्तै राजनीतिक दलका तर्फबाट नेपाली काँग्रेसका मोतिराम भण्डारी, नेकपा एमालेका लक्ष्मण थापा, नेकपा माओवादी केन्द्रका धनसिँह साउँद, नेकपा एकिकृत समाजवादीका रंग अधिकारी, राप्रपाका डम्बरबहादुर थापा, पत्रकार योगेश रावल, सेवा केन्द्रका सदस्य कल्पेश कुँवर लगायतले समेत उद्घाटन समारोहमा मन्यव्य राखेका थिए ।
सो अवसरमा अध्यक्ष तिमिल्सिनाले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष बलबहादुर रावलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वर्तमान कार्य समितिले सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा संस्थाको भवन निर्माण गरेको छ । त्यस्तै संस्थाले सम्पूर्ण कार्य सम्पादन गरेर पाँच लाख भन्दा बढी बैंक खातामा जम्मा गरेको जानकारी दिएको छ ।
संस्थाले टीकापुर नगरपालिकाको कार्यालय, टीकापुर नगरपालिकाको वडा नम्बर १ र ८, पत्रकार दुर्गा देवकोटा र सन्देश शाहलाई सम्मान गरेको छ ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष तारा अधिकारीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव प्रकाश खड्काले गरेका थिए ।
संस्थाको बन्द सत्र भने गणपुरक संख्या नपुगेका कारण सञ्चालन हुन सकेन । संस्थाको विधान अनुसार बन्द सत्र १५ औं दिनमा बस्ने सचिव खड्काले जानकारी दिए ।
चुनावी साधारण सभाले सेवा केन्द्रको नयाँ कार्य समिति चयन गर्नेछ । आगामी कार्य समितिको नेतृत्वका लागि उपाध्यक्ष तारा अधिकारी र सदस्य कल्पेश कुँवरले दावी गर्दै आएका छन । उद्घाटन समारोहमा अधिकांश वक्ताले सामाजिक संस्थामा निर्वाचन हुन नहुने धारणा राखेपछि सहमतिको प्रयास समेत भैरहेको छ ।


