टीकापुर, कात्तिक १८
टीकापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुमन धिताल आउने भएका छन । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयमा कार्यरत धिताललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने गरी कात्तिक १७ गते सरुवा गरेको छ ।
हाल काठमाण्डौं रहेका धितालले केही दिनमै जिम्मेवारी सम्हाल्ने जानकारी दिए । ‘२÷४ दिनमै पुग्छु होला’ उनले भने–‘स्थानीयस्तरमा केही राम्रो गर्ने मनसायले आउन लागेको छुँ ।’
उनी यसअघि झण्डै एक वर्ष इलाका प्रशासन कार्यालय टीकापुरको प्रमुखको जिम्मेवारी समेत सम्हालेका छन । उनले २०७२ साउन १७ गतेदेखी २०७३ जेठ २५ गतेसम्म सो जिम्मेवारी सम्हालेका थिए । उनी तत्कालिन अवस्थामा नेपाल सरकारको अधिकृतका रुपमा कार्यरत थिए ।
इलाका प्रशासन कार्यालय टीकापुरबाट उनको जिल्ला प्रशासन कार्यालय जुम्लाको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएको थियो । उनी हाल नेपाल सरकारको उपसचिवका रुपमा कार्यरत छन । उनी २०७९ असारमा उपसचिव भएका थिए ।
उनी टीकापुरका बासिन्दा समेत हुन । उनले मावि र उच्च माविसम्म अध्ययन टीकापुरबाटै गरेका थिए । उनले टीकापुरस्थित सप्तऋषि माविबाट एसएलसी र बिरेन्द्र विद्या मन्दिर उच्च माविबाट प्लस टु उत्तीर्ण गरेका हुन ।
टीकापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत लामो समयसम्म नटिक्ने समस्या रहेको छ । हाल कार्यरत रविन्द्रप्रसाद चौधरीको समेत छोटो समयमै सरुवा भएको छ । मन्त्रालयले उनको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहने गरी सरुवा गरेको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृतहरु समेत छोटो समयमै सरुवा हुने गरेका थिए ।
नगरपालिकामा काम गर्ने वातावरण नभएका कारण धेरैजसो प्रमुख प्रशासकीय अधिकृत आफै सरुवा मागेर जाने गरेको बताईन्छ । कतिपय प्रमुख प्रशासकीय अधिकृत भने विवादका कारण जानु परेको थियो ।


