टीकापुर, कार्तिक २३
कैलालीको मध्यवर्ती घोडाघोडीमा तरकारी बोकेको एक जिपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका वडा नं. २ टनकपुरमा बिहान पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु २ च २३५८ नम्बरको तरकारी बोकेको जिपले साइकल यात्री र पैदल यात्रुलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो ।
जिपको ठक्करबाट साइकल यात्री बर्दगोरिया गाउँपालिका वडा नं. ६, कोटातुल्सिपुरका ५५ वर्षीय शंकर डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
जोशीका अनुसार गम्भीर घाइते डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा पैदल यात्री घोडाघोडी नगरपालिका वडा नं. २, साडेपानीका ५४ वर्षीय पदमबहादुर शाही, बर्दगोरिया गाउँपालिका वडा नं. ६, कोटातुल्सीपुरका ५४ वर्षीय हर्कबहादुर डगौरा र सोही गाउँका २५ वर्षीय कृष्ण डगौरा छन् ।
जिप र चालक रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ४ का २३ वर्षीय सन्तोष घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




