धनगढी, कार्तिक २४
कैलालीमा प्रहरीले सक्रियता बढाएसँगै १२ दिनमै फरार कैदीबन्दीसहित ५९ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयले लागुऔषध दुर्व्यसनी, फरार प्रतिवादी र जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी नियन्त्रणमा लिनमा सक्रियता देखाएको छ ।
११ देखि २२ कार्तिकसम्ममा प्रहरीले ५९ जनालाई पक्राउ गरेर कानुनी कारबाही अघि बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार १२ दिनमा लागुऔषध दुर्व्यसनीमा संलग्न २५ जनालाई पक्राउ गरिएको छ ।
उनीहरुबाट ३१ ग्राम १३० मिलीग्राम खैरो हेरोइन बरामद गरिएकोमा लागुऔषध सम्बन्धी १५ वटा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको छ । यो अवधिमा विभिन्न मुद्दाका २१ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।
उनीहरु मध्ये चालु मुद्दाका ५ र फैसला कार्यान्वयनका १६ जना छन् । उनीहरुको कैद अवधि आठ महिना १४ दिन कैद र जरिवाना तीन लाख १० हजार १७६ रुपैयाँ रहेको छ ।
यस्तै, जेनजी आन्दोलन क्रममा भदौ २४ गते कैलाली कारागारबाट भागेका १३ जना कैदीबन्दीलाई समेत पक्राउ गरिएको छ । उनीहरुमध्ये ९ कैदी र ४ जना बन्दी रहेका छन् । पक्राउ परेका सबैलाई कानुन बमोजिमको कारबाही प्रक्रियामा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नरेन्द्र चन्दले लागुऔषध नियन्त्रण, फरार प्रतिवादी र कारागारबाट भागेका कैदीबन्दी पक्राउ अभियानलाई सक्रियता निरन्तरता दिइने बताए ।
‘समाजमा सुरक्षाको प्रत्याभूति र अपराध नियन्त्रण गर्नु नेपाल प्रहरीको प्रमुख प्राथमिकता हो’ एसपी चन्दले भने, ‘लागुऔषध दुर्व्यसनी नियन्त्रण अभियानकै रुपमा अघि बढाएका छौँ । फरार प्रतिवादी र कारागारबाट भागेका कैदीबन्दीलाई पनि कानुनको दायरामा ल्याइरहेका छौं ।’



